आइतवार, बैशाख २३, २०८१

‘कोरोना कमाण्डर’ डा. पूजा बिसी सम्मानित

  
कर्णाली टाइम्स सोमवार, भदौ २२, २०७७
सम्मान ग्रहण गर्दै डा. पूजा बिसी (बीचमा)

सुर्खेत । दैलेखको दुल्लु क्षेत्रमा कोरोना प्रतिकार्यमा कमाण्डरको भूमिका निर्वाह गरेकी डा. पूजा बिसीलाई दुल्लु नगरपालिकाले सम्मान गरेको छ । निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम भण्डारीले सोमबार १५ हजार नगदसहित सम्मान गरेका हुन् ।

२८ वर्षीया डा. बिसी दुल्लु अस्पतालकी प्रमुखसमेत हुन् । उनको नेतृत्वमा कोरोनाको संक्रमण अधिक रहेको दुल्लु क्षेत्रमा कोरोना नियन्त्रण भएको नगर प्रमुख भण्डारीले बताए । दुल्लुमा १ सय ५६ जनामा कोरोना देखिएकोमा १ सय ४१ जना निको भएर घर गइसकेका छन् । अहिले १३ जनामात्र आइसोलेसनमा छन् । दुईजनाको मृत्यु भएको छ । ‘उहाँले अहरोत्र खटेर दुल्लुलाई कोरोनामुक्त बनाउन ठूलो योगदान गर्नुभयो,’ उनले भने, ‘उहाँलेकै कारण अहिले पनि हामी कोरोनासँग प्रतिरोध गर्न सक्ने भएका छौं ।’

सम्मानपछि डा. पूजा बिसी (बीचमा)

डा. बिसीको कमाण्डमा दुल्लु अस्पताल र स्वास्थ्यचौकीका करिब १ सय २५ स्वास्थ्यकर्मी परिचालन भएका छन् । उनले छिउडीमा रहेको कोरोना विशेष अस्पतालका साथै दुल्लु नगरपालिकाका ९ वटा स्वास्थ्यचौकीको समेत नेतृत्व र समन्वय गरिरहेकी छिन् । डा. बिसीले नगरपालिकाले सम्मान गरेपछि कोरोना प्रतिकार्यमा काम गर्न अझ हौसला मिलेको बताइन् ।