बिहीबार, फागुन १०, २०८०

युवा उद्यमी भन्छन् ‘ऋण गरेर उद्योग गरियो, न कच्चा पदार्थ पाईन्छ नत राज्यले अनुदान नै दिन्छ ’

  
जगतदल जनाला विक आइतवार, भदौ २८, २०७७
कच्चा पदार्थको अभावमा रहेको बुद्धिमानको नेपाली पहाडी कागजको उद्योग ।

 

सुर्खेत। चौकुने गाउँपालिका– २ का बुद्धिमान बोहोराले सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालन गरेको २ वर्ष भयो ।

४ वर्षसम्म वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा नेपाली हाते कागजको उद्योगमा काम गरेको अनुभवका आधारमा ८ लाखको लागतमा पञ्चपुरी नगरपालिका –६ स्थित २ रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरे । ४ लाख आफ्नो र ४ लाख ३ रुपैयाँका दरले साहुबाट ऋाण तानेर उद्योगलाई सञ्चालन गरेका उनी आजभोली उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।

सुरु–सुरुमा उनले राम्रो नाफा कमाएपनि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग संकटमा परेको छ ।
उद्योगमार्फत उत्पादित उत्पादन बिक्री गर्न धेरै टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानी अनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चापदार्थ नपाईनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको उद्योगका सञ्चालक बुद्धिमान बोहोराले बताए ।

‘पहिला चार वर्षसम्म कागज उद्योगमा काम गरें, सम्भावना पनि राम्रै देखेपछि आधा ऋण र आधा जग्गा बेचेरै भएपनि उद्योग सञ्चालनमा ल्याएँ,’ सञ्चालक बोहोराले भने, ‘न चाहिएको बेला कच्चापदार्थ आउँछ, नत सरकारी तथा तथा गैरसरकारी संघ संस्थाका अनुदान पाइयो ।’
उद्योगलाई आधुनिक औजार तथा मेसिन, नयाँ प्रविधि, फ्रेमहरु तथा भण्डारणका लागि भौतिक संरचना चाहिएको छ । ‘यहाँस्थानीय उत्पादन र कच्चापदार्थ र बजारको समस्या हुने हुँदा समस्या परेको छ ।’ बोहोराले भने, ‘हाल उद्योगबाट कालिकोट, जुम्लाका वनजंगलमा पाइने लोक्ताको सहयोगमा नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन गर्थें ।’

कोरोना महामारीभन्दा पहिले उद्योगमा कागज उत्पादन गर्दै बुद्धिमान ।

कागज बनाउनका लागि महंगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि आजभोली कागज उत्पादन गर्न छोडेको उनले बताए । सरकारले उद्योगहरुका लागि भाडामा जग्गा, अनुदान नदिनु र उद्यमीलाई प्रोत्साहन नगर्दा यस्ता उद्योगहरु संकटमा परेको उनको भनाई छ ।
उनले स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदान समेत टाँठाबाठा र नातागोतालाई वितरण गरिएको् आरोप लगाउँदैे अनुदानमा आफुहरु जस्ता उद्योगीलाई सरकारले प्राथमीकता नदिएको बताए ।

स्थानीय तथा प्रदेश तहमा बारम्बर धाईरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनको गुनासो छ । पहिला सम्भावना देखेर फरक व्यवसायलाई अंगालौ ंभनेर उद्योग सञ्चालन गरिए पनि अहिले उद्योग संकटमा परेपछि लगानी नै डुब्ने डर लागेको बोहोराको गुनासो छ ।
गाउँघरमा सञ्चालन गरिएका घरेलु उद्योगलाई सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने साना तथा घरेलु उद्योग महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्र विसीले बताए । ‘आफ्नै गाउँठाउँमा स्थानीय स्रोत र साधनबाट बनेका राज्यले संरक्षण गर्न नसम्दा यस्ता उद्योगहरु संकटमा छन्,’ उनले् भने, ‘जबसम्म स्थानीय, प्रदेश र केन्द सरकारले उद्योगीका हितमा नीति तथा कार्यक्रम ल्याउँदैनन्, तबसम्म राष्ट्रलाई नै घाटा हुन्छ ।’
प्रत्येक स्थानीय तहहरुमा औद्योगिक ग्रामहरु स्थापना गर्ने, उत्पादन भएका बजार प्रवद्र्धन गर्ने ठोस नीति ल्याए कर्णालीका करिब १७ हजार साना तथा घरेलु उद्योगहरु नियमित सञ्चालनमा आउने अध्यक्ष बिसीले बताए ।

उनका अनुसार अरुबेला ५० प्रतिशतसम्म उद्योगहरु सञ्चालनमा आउने गरेकोमा कोरोना महामारीका कारण अहिले १० प्रतिशत मात्र उद्योगहरु सञ्चालनमा आएका छन् ।

‘कर्णाली प्रदेशमा कागज उद्योगको सम्भावना भएपनि स्थानीय तह तथा प्रदेश सरकारले विस्तृत रुपमा अनुदान दिन जरुरी छ ।’ विसीले भने, ‘पुरानो र एकदमै बजारमा घरेलु उद्योगहरु सबै संकटमा परेका छन् ।’