सुर्खेत, असोज २० । मंगलवार कर्णाली प्रदेशमा ७९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१० जनाको पिसीआर परीक्षण गरिएकोमा ७९ जनामो कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मंगलवार थपिएकामध्ये सबैभन्दा धेरै सुर्खेतका ५२ जना छन् । यस्तै दैलेखका ५ जना, कालिकोट र रुकुम पश्चिमका ४÷४ जना, सल्यान र जाजरकोटका ३÷३ जना, जुम्ला र हुम्लाका एक÷एक जना छन् भने कर्णाली प्रदेश बाहिरका ६ जना छन् ।
योसँगै कर्णाली प्रदेशमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ३ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १८५ पुगेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवरजा कँडेलले जानकारी दिए ।
अब प्रदेशभर सक्रीय संक्रमित ७५१ जना छन् । सुर्खेतमा ५८५, दैलेखमा ३०, जाजरकोटमा २, सल्यानमा ६१, रुकुम पश्चिममा १०, जुम्लामा ३६, कालिकोटमा २४, हुम्लामा ३ जना र मुगुमा २ जना सक्रीय संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
देशभर थपिए १५५१ जना
मंगलबार देशभर थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको बताए ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ । २४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ३४० रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
कर्णाली टाइम्स
मंगलबार, असोज २०, २०७७