आइतवार, मंसिर ३०, २०८१

जाजरकोट जीप दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

आफन्तले शव बुझेनन्, प्रजिअसहितको टोली घटना स्थल जाँदै

  
कर्णाली टाइम्स बिहीबार, असोज २२, २०७७


सुर्खेत, असोज २२ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बिहिवार बिहान एक जनाको शव भेटिएको हो । बिहिवार भेटिएको शव जुनीचाँदे गाउँपालिका–११ का १७ बर्षीय लालबहादुर बुढाको रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।
उनका बुवा नरबहादुर बुढको बुधवार बेलुका घटना स्थलबाट घाईते अवस्थामा उद्दार गरिएको थियो । उनको सुर्खेतको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भईरहेको वास्तोलाले जानकारी दिए ।
घटना स्थलमा बुधवार नै वडा अध्यक्षसहित ६ जनाको शव भेटिएको थियो । जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृती बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, ३० वर्षीय खिम बहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्ण बहादुर शाहीको बुधवार शव भेटिएको थियो ।
आफन्तले शव बुझेनन्
जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छैनन् । मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन् ।
स्थानीय जनप्रतिनिधिको पहलमा उनीहरुले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ । छलफलका लागि प्रमुख जिल्ला अधिकारीसहित आफूहरु घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए । अबको केही समयमा आफूहरु घटना स्थलमा पुग्ने उनले बताए ।
श्रेष्ठका अनुसार जीपका चालक फरार रहेको आशंका गरिएको छ । चालकको मोबाइल गाडीमै छुटेको छ र चालक फरार रहेको आशंका गरिएको उनले बताए ।
यस्तै मृतकका आफन्तले भने चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएको भन्ने जानकारी आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सयौंको संख्यामा टोली गएर चालकको जुनीचाँदे–५ मटेलमा रहेको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाइदिएको भन्ने जानकारी आएको र त्यसतर्फ प्रहरी पठाईएको प्रवक्ता वास्तोलाले बताए ।
बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका–१ को औलखोलामा जीप दुर्घटना भएको हो । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।