शनिबार, कार्तिक १०, २०८१

प्रचण्ड–नेपाल समूहको आमहड्तालः यस्तो छ सुर्खेतको अवस्था

ओली समूहका कार्यकर्ताको अवज्ञा प्रयास, उग्र बन्दै प्रचण्ड–नेपाल समूहका युवा

  
कर्णाली टाइम्स बिहीबार, माघ २२, २०७७


सुर्खेत । नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहिवार देशभर हड्ताल जारी राखेको छ । असंवैधानि रुपमा गरिएको संसद् विघटन र त्यससँग सम्बन्धित अरु विषयलाई लिएर प्रचण्ड–नेपाल समूहले देशभर आन्दोलन (बन्द) गरिरहेको छ । सार्वजनिक तथा निजी सवारी साधन, विद्यालय, व्यवसाय बन्द गराईएको छ ।
प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सुर्खेत र आसपासमा चल्ने सवारी साधन पनि बन्द भएका छन् । आज छुट्ने सबै सवारी साधन स्थगित गराईएको सुर्खेतस्थित मध्यपश्चिम यातायात प्रालिले जनाएको छ ।
सुर्खेत उपत्यकामा भने मोटरसाईकल अटोरिक्सा जस्ता सवारी साधन सञ्चालन भईरहेका छन् । सुर्खेतमा बन्दकर्ताको उपस्थिति मुख्य सडकका चोकहरुमा छ । सुर्खेतसहित कर्णाली प्रदेशभित्रका जिल्ला सदरमुकामहरुमा पसलहरु सबै बन्द छन् । धेरैजसो ठाउँमा प्रहरी र सशस्त्र प्रहरी खटाईएको छ ।
ओली समूहका कार्यकर्ताको अवज्ञा प्रयास
सुर्खेतमा भईरहेको हड्ताललाई भने ओली समूहका केही कार्यकर्ताले अवज्ञा गर्न खोजेको नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला सचिव कृष्ण जिसीले बताए । उनीहरुले सामाजिक सञ्जालमा स्टाटस लेखेर, बन्दकर्ता बसेको ठाउँबाट मोटरसाईकल तथा सवारी साधान चलाएर अवज्ञा गर्न खोजेको जिसीले बताए ।
‘ओली समूहका १÷२ जना उच्छृङ्गल व्यक्तिहरुले बन्दको अवज्ञा गर्न खोजे, हामीले उनीहरुलाई सम्झाएर पठाएका छौं,’ उनले भने, ‘त्यो समूहको धेरैजसो व्यक्तिबाट त राजनीतिक व्यवहार नै भएको छ, केहीले उच्छृङ्गल कार्य गर्न खोजे ।’
हड्ताललाई प्रहरी, प्रशासन तथा आम नागरिकले पनि सहयोग गरेको जिसीले बताए । ‘हामीलाई जनताले पनि सहयोग गर्नुभएको छ, हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेकाले प्रशासनबाट पनि कुनै हस्तक्षेप अहिलेसम्म भएको छैन ।’ उनले भने ।
उग्र बन्दै प्रचण्ड–नेपाल समूहका युवा
सुर्खेतमा हड्ताल उत्रिएको प्रचण्ड–नेपाल समूह उग्र बन्न थालेको छ । नेतृत्वकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताएपनि युवा समूह भने उग्र बन्दै गएको छ ।
आन्दोलनमा सहभागी युवाहरुले साढे ९ बजेतिर युवाहरुले मोटरसाईकल चलाईरहेका मानिसलाई थुतेर कुटपिट गरेको छ । बुलबुले गेटनजिकै युवाहरुले पूर्वतिरबाट मोटरसाईकल चलाएर आएका युवालाई थुतेर कुटपिट गरेका हुन् ।
दैलेखको भैरवी गाउँपालिका–१ का जोरासिं विष्टलाई युवाहरुले मोटरसाईकलबाट झारेर सामूहिक रुपमा कुटपीट गरेका हुन् । कुटपिटबाट उनी सामान्य घाईते भएका उनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाईएको प्रहरीले जनाएको छ । बिहान छिटपुट रुपमा अटोरिक्सा र मोटरसाईकल चलिरहेको भएपनि अहिले बन्द भएका छन् ।