सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएकोले कर्णालीको तिव्र विकास र आर्थिक समृद्धिका लागि स्थायित्व कायम हुनुपर्ने औंल्याएका छन् । नयाँ बर्ष २०७८ सालको अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले जनताको चाहनाविपरित केही व्यक्ति र समूहले सुरु गरेको अस्थिरताको प्रयासलाई सफल हुन नदिने बताएका छन् ।
‘हामीले जनताको बिचमा मत माग्दै गर्दा राजनैतिक स्थायित्व र कर्णालीको समृद्धिको यात्रा तय गर्ने भनेर गरेको कबुल कसैले पनिभुल्नु हुदैन,’ शुभकामना सन्देशमा भनिएको छ, ‘जनताको चाहनाविपरित केही व्यक्ति र समूहले सुरु गरेको अस्थिरताको प्रयासलाई कर्णालीका सचेत जनताले सफल हुन नदिने विश्वास व्यक्त गर्दछु ।’
प्रदेश सरकारसामु आइपरेका सबै बाधा, अवरोध र चुनौतीहरुलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाउने विश्वास मुख्यमन्त्री शाहीले व्यक्त गरेका छन् ।
विकास र समृद्धिको यो राष्ट्रिय अभियान पूरा गर्न प्रदेश सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको उनले बताएका छन् । ‘समग्र विकासमा पछाडि रहेको कर्णाली प्रदेशको विकासको लागि प्रदेश सरकारले भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ,’ मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘प्रदेश सरकार गठनपश्चात हालसम्म १ हजार २५० किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण, १६७ किलोमिटर सडक ग्राभेल र १८ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।’
प्रदेश राजधानी सुर्खेतको चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन, सुर्खेत उपत्यका खानेपानी योेजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि नेपाल सरकारको समन्वयमा जग्गा प्राप्तिको कार्य थालनी लगायत प्रदेशको भौतिकपूर्वाधार विकासमा महत्वपूर्ण टेवापुग्ने कार्यहरु प्रदेश सरकारले गरेको उनले दावी गरेका छन् ।
कर्णाली प्रदेशमा विद्युतिकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक वजेट व्यवस्था गरी राष्ट्रिय प्रशारण लाईन सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कामअगाडि बढाईएको मुख्यमन्त्री शाहीले बताएका छन् ।
तत्काल राष्ट्रिय प्रशारण लाईन पुग्न नसक्ने क्षेत्रमा कर्णाली उज्यालो कार्यक्रममार्फत लघु जलविद्युत र सौर्य विद्युत प्रणालीमार्फत विद्युतीकरणको काम गरिएको उनले बताएका छन् ।
विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ पर्यटन गुरुयोजना निर्माण गरिएको मुख्यमन्त्री शाहीले बताउ । यस्तै उच्च हिमालयन पदमार्ग, हाब्रे पदमार्ग, गुरिल्ला पदमार्ग, यार्चा पदमार्ग लगायतका पदमार्गहरुको सम्भाव्यता अध्ययन कार्य गरी पर्यटन प्रवद्र्धनका लागि अगाडि बढिरहेको उनले बताएका छन् ।
स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा लगायत संविधानप्रदत्त नागरिकका मौलिक हकको ग्यारेन्टीका लागि पनि प्रदेश सरकार गम्भीर रहेको उनले बताए ।
कर्णाली टाइम्स
बुधबार, बैशाख १, २०७८