सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा ५ सय शैय्या आईसोलेसन बेड विस्तार गरिने भएको छ । दोस्रो चरणको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि प्रदेश अस्पतालमा ५ सय शैय्या आइसोलेसन बेड विस्तार गर्ने निर्णय भएको छ ।
बिहिबार मुख्यमन्त्री तथा प्रदेश विपद् व्यवस्थापन केन्द्रका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेश अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि थप ५ शैय्याको बेड विस्तार गर्ने निर्णय गरिएको हो ।
यस्तै प्रदेशका सबै जिल्ला अस्पतालमा थप ५० शैय्यादेखि १०० शैय्याका आईसोलेसन बेड निर्माण गर्ने र प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ५ सय शैय्यासम्मका कोरोना संक्रमणका बिरामीको उपचार गर्नका लागि बेड विस्तार गर्ने निर्णय गरिएको छ ।
दोस्रो चरणमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामका लागि सबै प्रकारका नीति अबलम्बन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई योजना बनाउन निर्देशनसमेत दिईएको कर्णाली प्रदेश सरकराका प्रवक्ता विमला केसीले जानकारी दिईन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलगायतका अन्य कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय विपद् व्यवस्थापन केन्द्रले गरेको उनले बताइन् ।
तत्कालका लागि कुनै प्रकारको लकडाउन नगर्ने र सामाजिक दुरी कायम राखेर प्रदेश सरकारका कामकारबाही अगाडी बढाउने निर्णय पनि विपद् व्यवस्थापन केन्द्रले गरेको उनले बताइन् ।
कर्णाली टाइम्स
बिहीबार, बैशाख ९, २०७८