फाईल तस्विर
कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका तीन जनाले दोस्रोपटक सपथ मन्त्रीको सपथ लिएका छन् । बुधबार दिउँसो १ बजे कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जना मन्त्रीलाई दोस्रोपटक सपथ खुवाएका हुन्।
यसअघि वैशाख ४ गते नियुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले वैशाख ५ गते सपथ लिएका थिए ।
माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत पुर्याउन फ्लोर क्रस गरेपछि उनीहरूलाई नेकपा एमालेले सांसदबाट मुक्त गरेको थियो। वैशाख १३ गतेदेखि पदमुक्त भएका उनीहरुको मन्त्री पद पनि त्यससँगै गएको थियो ।
मुख्यमन्त्री शाहीले आफूलाई मुख्यमन्त्री टिकाइराख्न फ्लोर क्रस गरेकाले उनीहरूलाई मन्त्री बनाएका थिए। सांसद पद गएपछि स्वतः मन्त्री पदमुक्त भएका उनीहरूलाई मुख्यमन्त्रीले बुधवार नै फेरि नियुक्त गरेका हुन्।
उनीहरूसँगै प्रकाश ज्वाला पनि पदमुक्त भइसकेका छन्। यसअघि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका उनले चैत २४ मन्त्रीबाट राजीनामा दिएका थिए। सामाजिक विकास मन्त्री रहेका दल रावल र उद्योग मन्त्री बुढाले राजीनामा दिएका थिए।
बुढा राजीनामा दिइसकेपछि पनि सोही मन्त्रालयमा नियुक्त भए।
हाल खाली रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय विमला केसीको जिम्मामा छ । उनी यसअघि कृषि मन्त्री थिइन् ।
फ्लोर क्रस गरेका चार जनालाई नेकपा एमालेले पार्टीबाट पनि हटाईसकेको छ ।