आइतवार, भदौ २३, २०८१

कोरोनाविरुद्ध सबैलाई एकाकार बनाउन कर्णाली सरकारलाई कांग्रेस महामन्त्रीको सुझाव

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २४, २०७८

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशसभामा रहेको प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) सहित अन्य राजनीतिक दल र नागरिक समाजलाई कोरोनाविरुद्धको अभियानमा एकाकार गर्न थप पहल र रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । शुक्रबार बिहान आप्mनो फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

महामन्त्री खड्काले प्रदेश सरकारलाई योसहित विभिन्न ९ वटा सुझाव दिएका छन् । कोरोनाको दोस्रो लहरबाट बच्न प्रदेश सरकारले समयमै पूर्वतयारी र व्यवस्थापनको काम नगरेको भन्दै उनले प्रदेश सरकारप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् । आप्mनो जीवनलाई खतरामा पारेर भए पनि अहोरात्र खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न यथेष्ट अतिरिक्त आर्थिक सुविधा दिनुपर्ने उनको भनाइ छ । ‘अक्सिजन, भेन्टिलेटर र आवश्यक औषधीको अभाव हुन नदिन सबै प्रकारका पहुँचको प्रयोग गरियोस्,’ उनले भनेका छन्, ‘प्रदेश र जिल्ला अस्पतालहरुमा पर्याप्त बेडहरुको प्रवन्ध गर्न थप पहल गरियोस् ।’ कोरोना संक्रमित विपन्न नागरिकलाई सबै प्रकारको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन पनि उनले सुझाव दिएका छन् ।

संक्रमणबाट थप जोखिम बढ्न नदिन प्रदेशका सबै जिल्लामा पीसीआर परीक्षणलाई अभियानको रुपमा तीब्रता दिई कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाइनुपर्ने पनि उनले बताएका छन् । स्थानीय तहलाई समेत थप बजेट उपलव्ध गराई समन्वयात्मक तरिकाले थप क्रियाशिल बनाउनु पर्ने उनको भनाइ छ । ‘प्रदेश सरकारले जुनसुकै कोषमा रहेको बजेटलाई कोरोनाविरुद्धको अभियानमा खर्च गर्ने व्यवस्था मिलाई अहिलेको एकमात्र लक्ष्य नागरिकको जीवनरक्षा हुनुपर्दछ,’ उनले भनेका छन्, ‘निशेधाज्ञाको बेला दैनिक जीवन गुजारा गर्न नसक्ने मजदुरलगायत विपन्न परिवारलाई उचित राहत प्याकेज व्यवस्था गरियोस् ।’