सुर्खेत। नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। कोभिड–१९ संक्रमणबाट उनको निधन भएको हो।
सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाली काँग्रेसको सुर्खेत सभापतिका रुपमा लामो समयसम्म नेतृत्व गरेको विष्ट २०७० सालमा सुर्खेतको तत्कालीन ३ नम्बर निर्वाचन क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।
उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।
पार्टीले निष्ठावान नेता गुमायो : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिष्टको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । ‘उहाँको निधनको खबरले म निकै दुःखी छु । तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ,’ देउवाले ट्वीट गर्दै भनेका छन् ।
कर्णाली टाइम्स
आइतवार, असार ६, २०७८