आइतवार, भदौ २३, २०८१

वीरेन्द्रनगरलाई अब उपमहानगरपालिका बनाईने

  
कर्णाली टाइम्स बिहीबार, असार १०, २०७८
फाईल तस्विर।

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाईने छ। कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाउन नगरपालिकाले एजेण्डा समेत बनाईसेको छ।
नगरपालिकाको बिहिवार बसेको नगरसभाले यो एजेण्डा पारित गरेको छ। कर्णाली प्रदेश सरकारमार्फत उपमहानगरपालिका बनाउने एजेण्डा संघीय सरकारमा जाने नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
‘अहिले हामीले यो एजेण्डा बनाएर नगरसभामार्फत पेश गरेका छौं, अब प्रदेशमार्फ संघीय सरकारमा गएर एजेण्डा पारित हुनुपर्छ।’ उनले भनिन्।
वीरेन्द्रनगरलाई उपमहागरपालिका बनाउनका लागि आवश्यक मापदण्ड पुग्ने उनले बताइन्। उपमहागरपालिकाका लागि सम्बन्धित क्षेत्रभित्र बसोबास गर्ने जनसंख्या २ लाख, स्थानीय तहको आन्तरिक राजस्व २५ करोड, आवश्यक प्रशासनिक संरचना तयार हुनुपर्छ।
उपमेयर ढकालका अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाभित्र बसोबास गर्ने जनसंख्या झण्डै साढे ३ लाख छ। जसमध्ये स्थायी बसोबास गरेका १ लाख ३० हजार जनसंख्या छ भने अस्थायी बसोबास गरेका २ लाख बढी छन्।
अहिले वीरेन्द्रनगरको आन्तरिक राजस्व २१ करोड ५० लाख छ। यसमा संघ र प्रदेश सरकारबाट बाँडफाँड भएर आउने राजस्वलाई जोड्ने हो भने २५ करोड पुग्ने ढकालले बताइन्।
प्रशासनिक संरचना पनि अधिकांश भएको र बाँकी आवश्यक पर्ने संरचना निर्माणको सम्भावना पनि पर्याप्त भएकोले वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको उनले बताइन्।
कर्णाली प्रदेशभर ७९ वटा स्थानीय तह छन्। हालसम्म कर्णाली प्रदेशभित्र एउटा पनि उपमहानगरपालिका छैन।