सुर्खेत। बझाङको प्रदेश सभा सदस्य उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारी ११ हजार ६१३ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए। चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।
प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा ११ जना उम्मेदवार थिए। २०७९ सालको चुनावमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। त्यतिबेला निर्वाचित सिंह मन्त्री हुँदा सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त पदका लागि उपनिर्वाचन भएको हो।
अहिले उपनिर्वाचनमा भण्डारीसँग पराजित भएका अभिषेक पृथ्वीबहादुरकै छोरा हुन्।