शुक्रबार, असोज २५, २०८१

डा. मल्लको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  
कर्णाली टाइम्स सोमवार, साउन ७, २०८१

काठमाडौं। कवि तथा गीतकार डा. महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।

डा. मल्लद्धारा रचना गरिएको गीतमा गायिका सिम्रन परियारको स्वर र शिव संगीतको संगीत रहेको छ। जीवनकुमार ज्ञवालीले निर्देशन र नितु सिंह ठकुरीले व्यवस्थापन गरेको म्यूजिक भिडियोमा बिपाशा चदाराले मोडलिड गरेकी छन्।

म्यूजिक भिडियो सार्वजनिक गर्दै पूर्वउपप्रधानमन्त्री खड्काले गीतसंगीतको जगेर्ना गर्नु सबैको दायित्व भएको बताए। ‘संस्कृति र सभ्यतालाई सम्मान गरेमा मात्र राष्ट्रको विकास सम्भव छ,’ उनले भने, ‘यस कार्यमा हामी सबै प्रतिवद्ध हुनुपर्छ।’

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्राध्यापन क्षेत्रमा समेत रहेका डा. मल्लले संस्कृति र सभ्यताको उद्गमथलो कर्णालीबाट संस्कृतिलाई डिजिटलाइज्ड गर्ने कार्य गरेकोमा प्रसंशा गरे। उनले कर्णालीको भाका र गीतले समग्र राष्टको सांगीतिक क्षेत्रलाई योगदान गरेको बताए।

कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहले गीतसंगीतको विकासविना समाजको विकास अपूरो रहने भएकाले राज्यका निकायले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।

सो अवसरमा उक्त गीतकी गायिका सिम्रन परियारको जन्म दिनको उत्सव पनि मनाइएको थियो।

हेर्नुहोस भिडियो: