सुर्खेत। दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ की तुल्सी अधिकारीको मोवाईलमा साउन २५ गते बिहान एक जना अपरिचित व्यक्तिको फोन आयो। उनले आफ्नो नाम पूर्णबहादुर देवा बताए। ती व्यक्तिले आफू नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत सई भएको र तुल्सीका कारागारमा रहेका छोरालाई बाहिर निकालिदिने बताए।
त्यसका लागि आफ्नो लेखापालको खातामा केही पैसा जम्मा गर्न भने। तुल्सीसँग उनले आफ्ना लेखापालको नाम विकास विसी बताएका थिए। उनैको एनएमबी बैंकमा रहेको खाता नम्बर पनि पठाईदिए।
तुल्सीका छोरा एउटा मुद्दामा दैलेख जिल्ला कारागारमा थुनामा छन्। उनलाई आफू सई (प्रहरी नायव निरीक्षक) भएको बताउने व्यक्तिले प्रयोगशालाबाट छोराको प्रतिवेदन पठाएर कारागारबाट उम्काईदिने आश्वासन दिए। तुल्सीले फोनमै गरेको कुाराकानीमा विश्वास गरेर फोन गर्ने व्यक्तिले आफ्ना लेखापाल भनेर दिएको विकास विसीको खातामा ५८ हजार २३५ रुपैयाँ जम्मा गरिदिईन्। त्यो पैसा जम्मा गर्न उनले छिमेकी भतिजलाई पैसा दिएर बैंकमा पठाएकी थिईन्।
पैसा गरिदिएपछि भने उनलाई फोन गर्ने व्यक्ति सम्पर्कमा आएनन्। त्यसपछि तुल्सीले जिल्ला प्रहरी कार्यालय दैलेखमा आफू ठगिएको भन्दै उजुरी दिईन्।
उनको जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानपछि भने फरक रहस्य खुल्यो। आफू नेपाल प्रहरीभित्रको विधि विज्ञान प्रयोगशालामा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक भएको भन्दै फोन गर्ने व्यक्ति बाँकेका ३६ बर्षीय लोकबहादुर खाण थिए। उनैले तुल्सीलाई पूर्णबहादुर देउवा नाम बताएका थिए।
यसरी नै उनले १६ जिल्लामा ठगी गर्दै हिँडेको पाईएको छ। उनले कतिपय ठाउँमा आफ्नो नाम विनोद खाण पनि बताउने गरेका थिए। यो धन्दामा उनले दैलेखको गुराँस गाउँपालिका–६ का विकास विसीलाई संलग्न गराएका थिए।
ठगीमा संलग्न भएका यी दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ। दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार दैलेखका विसीलाई असोज ३ गते गुराँस गाउँपालिकाको केन्द्र नजिकबाट पक्राउ गरिएको हो। बाँकेको राप्ती सोनारी गाउँपालिका–७ लालपुरका खाणलाई असोज १८ गते सुर्खेतको लेकवेशी नगरपालिका–२ दशरथपुरबाट पक्राउ गरिएको हो।
डिएसी दाहालका अनुसार खाणले कारागारमा रहेका कैदी, मुद्दा चलिरहेका अभियुक्तका ठेगाना तथा आफन्त पत्ता लगाउँथे। उनीहरुलाई आफू विधि विज्ञान प्रयोगशालाको सई भएको र स्वास्थ्य परीक्षण, स्वा परीक्षण लगायतका आवश्यक प्रतिवेदन चाँडो निकालेर उम्काईदिने भन्दै पैसा माग्थे। ती पैसा जम्मा गर्न उनले दैलेखका बिसीको खाता प्रयोग गर्थे।
अनुसन्धानका क्रममा हालसम्म १८ जनाबाट यसैगरि ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको पाईएको डिएसपी दाहालले बताए। ‘अहिलेसम्मको अनुसन्धानबाट यो पाईएको हो, धेरै जिल्लामा उनले यस्तै काम गरेको देखिएकाले अरु अरु पनि पीडित हुन सक्छन्,’ उनले भने, ‘हामीले मुद्दा चलाएका छौं, अनुसन्धान बाँकी नै छ।’
पक्राउ परेका खान र बिसीले दैलेख, कालीकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके जिल्लामा पुगेर ठगी गरेको पाईएको डिएसपी दाहालले बताए।
पक्राउ परेका दुवै जनाविरुध्द ठगी मुद्दा चलाईएको छ। दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखी उनीहरुमाथि अनुसन्धान भईरहेको उनले जानकारी दिए।