सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिन सञ्चालन गरिएको छ। शुक्रबार एमआरआई सेवाको औपचारिक उद्घाटन गरिएको हो।
प्रदेश अस्पतालमा सञ्चालनमा रखेको एमआरआई मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ। सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको जाँच गर्ने गरिएको छ। २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने उक्त मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सहितको आवाजविहीन रहेको खड्काले जानकारी दिए।
मेसिन सञ्चालनमा आएसँगै आवश्यकता अनुसा कुनै पनि समयमा अस्पतालबाट सेवा दिन सकिने उनले बताए।
एमआरआई मेसिन सञ्चालनमा आएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकले एकै दिनमा बिरामीको रिपोर्ट दिन सक्नेछन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताललाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको हो। पाँच वर्ष ग्यारेन्टी भएको मेसिन २९ करोड ७१ लाख रुपैयाँ मुल्यमा किनेको अस्पतालले जनाएको छ।
कर्णाली टाइम्स
शुक्रबार, भदौ २८, २०८१