सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले चालु आर्थिक बर्षको बजेटमा बालबालिकाको क्षेत्रमा विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन्। बालबालिकाको क्षेत्रमा उचित बजेट विनियोजनका विषयमा बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शाहले बालबालिकाको हकअधिकार तथा संरक्षणका लागि प्रदेश सरकारबाट विनियोजित बजेट पूर्ण कार्यान्वयन हुने प्रतिबद्धता जनाए।
प्रदेश सरकारलाई प्रदेशको सर्वपक्षीय विकासका लागि सबै क्षेत्रमा क्रियाशिल हुनुपर्ने जिम्मेवारी भएको भन्दै उनले बालबालिकाको क्षेत्रलाई पनि उचित सम्बोधन गरिने उनले बताए।
मन्त्रालयको नेतृत्वमा आफू हुँदा यसपछि आफ्नो कार्यकालमा ल्याईने बार्षिक बजेटमा समृद्ध समाजको विकाससँगै बालबालिकाको हकहिट र अधिकारको विषय उचित रुपमा सम्बोधन गरिने मन्त्री शाहले प्रतिबद्धता जनाए। हरेक क्षेत्रको विकासका लागि लगानी आवश्यक रहेकोले बालबालिकाको विकासका लागि पनि लगानी गरिने उनले बताए।
उनले प्रदेश सरकारले उत्पादन तथा रोजगारीसँग सम्बन्धित कार्यक्रमहरुबाट प्रत्यक्ष रुपमा नागरिकलाई जोड्ने काम गरिरहेको बताए। सामाजिक विकासका क्षेत्रमा पोषण, स्वास्थ्य, शिषा, नागरिक सचेतना जस्ता कार्यक्रमबाट नागरिक जनसरोकारका विषयलाई प्रदेश सरकारले सम्बोधन गरिरहेको मन्त्री शाहले बताए।
यसैक्रममा उनले बालबालिकाको क्षेत्रमा काम गर्ने विकास साझेदार संस्थाहरुसँग प्रदेश सरकारले आवश्यकताअनुसार सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।