शुक्रबार, असोज २५, २०८१

बाढीपहिरोले १७ अर्बको क्षति

  
कर्णाली टाइम्स मंगलबार, असोज १५, २०८१
फाइल तस्विर।

सुर्खेत। चार दिनसम्म परेको बर्षाका कारण १७ अर्बको क्षति भएको छ। बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण आएको बाढीपहिरोबाट १७ अर्बको क्षति भएको हो।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रकार सम्मेलन गर्दै क्षतिको बारेमा जानकारी गराएको हो। मुख्यसचिव एकनारायण अर्याललका अनुसार बाढीपहिरोबाट २१ जिल्ला प्रभावित भएका छन्।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उनले बताए।
यही अवधिमा बाढीपहिरोबाट २२४ जनाको मृत्यु भएको छ। २४ जना बेपत्ता रहेका छन्। परी १५८ जना घाइते भएको र सरकारले चार हजार ३ सय ३१ जनाको उद्धार गरेको मुख्यसचिव अर्यालले जानकारी दिए।

विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको थियो। भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोडको क्षति पुगेको छ।

सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण संकलन गरिएको छ।

सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको छ। बाढीपहिरोपछि ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालनमा आइसकेका छन्।

ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ। कुल १ हजार १३९ मेगावाट क्षमताका १८ वटा निर्माणाधीन जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ। ५ प्रमुख प्रसारण टावरमा क्षति पुगेको छ।