सुर्खेत। कर्णालीमा हुने उपनिर्वाचनअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका उपमेयर पदका लागि २० जनाको उम्मेदवारी परेको छ। मंसिर १६ गते तोकिएको उपनिर्वाचन कर्णाली प्रदेशका ८ ठाउँमा हुँदैछ।
कर्णालीमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।
यस्तै कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।
तीन वटा अध्यक्ष, उपाध्यक्ष तथा उपमेयर पदका लागि २० जनाको उम्मेदवारी परेको छ। यीमध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन्।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारले मनोनयन दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाश बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले उम्मेदवारी दिएका छन्।
यसअघि नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते मृत्यु भएको हो।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदका लागि ६ जनाको उम्मेदवारी परेको छ।
नेपाली काँग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, राप्रपा नेपालबाट सुनिता पुन रावल, माओवादी केन्द्रबाट देवका लामिछाने, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुनको उम्मेदवारी परेको छ।
यसअघि २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट उपमेयरमा निर्वाचित भएकी सरिता सिंहको गत बर्षको भूकम्पमा परि मृत्यु भएको थियो।
अहिलेको उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकी भाईबुहारी हुन्।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई जना स्वतन्त्र उम्मेदवारसहित सात जनाको उम्मेदवारी परेको छ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाले सर्केगाडको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगिता शाही र रास्वपाबाट बाँचा शाहीले उम्मेदवारी दिउका छन्।
नरेश शाही र रामसरा खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
गत भदौ ४ गते सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको थियो। उनले २०७९ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर उपाध्यक्ष बनेका थिए।
आठ जना वडाध्यक्ष पदका लागि २५ जनाको उम्मेदवारी परेको छ। सानीभेरी गाउँपालिका–५ मा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। बाँकी २४ वटा उम्मेदवारी दलगत रुपमा परेका हुन्।