मंगलबार, असार ३१, २०८२

लेकवेशीमा नगरस्तरीय शिक्षा नीति संवाद

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ७, २०८२


सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकामा नगरस्तरीय शिक्षा नीति संवाद गरिएको छ। बुधबार कारखाना समूहअन्तर्गत रहेको जवाफदेही शिक्षाका लागि नागरिक समाज सशक्तिकरिण (सिएसई) परियोजनामार्फत नगरस्तरीय शिक्षा नीति संवाद गरिएको हो।

संवादमा वक्ताका रुपमा रहेका नगरप्रमुख उमेशकुमार पौडेलले नगरपालिकाको शैक्षिक क्रियाकलापलाई गुणस्तरीय, समावेशी र जवाफदेही बनाउनेगरि काम गरिरहेको दावी गरे। लेकवेशीमा रहेका ४७ वटै विद्यालयमा अहिले दरबन्दीअनुसारका शिक्षक रहेकोले अध्यापनका लागि समस्या नरहेको उनले बताए।

‘हामीसँग अहिले शिक्षक अपुग नगन्य मात्र होला, हामीसँग जनशक्ति पर्याप्त भएकाले शिक्षण सिकाईमा प्रभाव परेको महसुश गरेका छैनौं,’ उनले भने, ‘केही अपुग भएका विद्यालयहरुमा नगरको स्रोतबाट विषय शिक्षक नियुक्त गरेर शिक्षण क्रियाकलाप नियमित गरेका छौं।’

नगरपालिकाले शिक्षा ऐनको पूर्ण कार्यान्वयन गरिरहेको उनले बताए। निशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन गर्न भने नसकिएको उनले बताए। ‘सरकारले ल्याएको यो अवधारणा कार्यान्वयन गर्न मुस्किल छ, हामीले विद्यालय चलाउने जिम्मेवारी पाएपछि स्रोत पनि त्यही अनुसार हुनुपर्छ,’ नगरप्रमुख पौडेलले भने, ‘नत्र भने हामीले मात्र होईन, हाम्रोजस्तो कमजोर आय भएका कुनैपनि स्थानीय तहले यो नीति कार्यान्वयन गर्न सक्दैनन्छ।’

स्थानीय तहहरुलाई संघ र प्रदेशबाट शिक्षाका लागि भौतिक पूर्वाधार निर्माणतर्फ भएको सहयोगले सहजता आएको उनले बताए।

उनले आगामी आर्थिक बर्षको बजेटमा शिक्षालाई गुणस्तर बनाउने क्रियाकलापमा बजेट विनियोजन गरिने प्रतिबद्धता जनाएका छन्।

अर्का वक्ता नगर उपप्रमुख विमला खड्लुकले शिक्षाको क्षेत्रमा बजेट विनियोजन गर्दा लैंगिक समावेशितालाई विशेष ध्यान दिईएको र आगामी बजेटमा पनि यस्ता विषय सम्बोधन गरिने बताईन्।

उनले महिला, अपांगता भएका व्यक्ति, सीमान्तकृत समुदायको शिक्षामा पहुँच वृद्धि गर्न नागरिक समाजको पनि सकारात्मक भूमिका आफूले पाएको बताईन्।

वक्ताकै रुपमा रहेका नगरपालिकाका शिक्षा अधिकृत गोविन्द गौतमले पालिकाभित्र अहिले शिक्षक दरबन्दी अनुसार नै शिक्षक रहेको बताए। उनले शिक्षाको पेशागत क्षमता विकासका लागि केही तालिम तथा गोष्ठी नगरबाट सञ्चालन गरिएपनि सबैलाई समावेश गर्न नसकिएको बताए।

उनका अनुसार शिक्षामा रहेको बजेट कार्यान्वयन र त्यसको प्रतिफल आशा गर्नलायक रहेको उल्लेख गरे।

संवादमा सहभागी सरोकारवालाहरुले नगरले अनुदानमा नियुक्त गरेका शिक्षकको तलब न्युन भएकाले वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए। शिक्षाको गुणस्तर वृद्धिका लागि उचित लगानी नगरपालिकाले गर्नुपर्ने सुझाव सरोकारवालाहरुको थियो।

नगरपालिकाको शिक्षा नीति, बजेट र त्यसको कार्यान्वयन, गुणस्तरीय र समावेशी शिक्षा, सार्वजनिक शिक्षा क्षेत्रमा नागरिक समाजको भूमिका लगायतका विषयमा केन्द्रित नगरस्तरी शिक्षा संवादलाई कारखाना समूहका सिकाई समूह सदस्य दीपकजंग शाहीले सहजीकरण गरेका थिए।

कारखाना समूहका कर्णाली प्रदेश अधिकृत (परामर्शदाता) ललितजंग शाहीले संवादको समग्र उद्देश्यबारे सहजीकरण गरेका थिए।