सुर्खेत। यार्सा टिप्न गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ।
बिहिबार तातोपानी गाउँपालिका–८ टोप्लाका २७ बर्षीया कल्पना शाही र गुठीचौर गाउँपालिका–१ मणिगाउँका ३५ बर्षीय भीमबहादुर बोहराको मृत्यु भएको हो।
कल्पनाको बिहीबार दिउँसो जुम्ला र जाजरकोटको सिमनामा पर्ने सुब्बाकुना पाटनमा चट्याङ लागेर मृत्यु भएको हो भने भीमबहादुरको लेक लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बोहरा यार्सा संकलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा पर्ने मध्यवर्ती पाटनमा पुगेका थिए। उनलाई बुधबार त्यही पाटनमा लेक लागेको जुम्लाका प्रहरी प्रमुख डिएसपी रमेशबाबु रेग्मीले बताए।
यस्तै यार्सा संकलनका लागि पाटन जान थालेका मुगुका एक जना लडेर नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुमकार्मारोङ गाउँपालिका—५ सेरोग गाउँका अन्दाजी ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन् ।
पाटन क्षेत्रतर्फ जाँदै गरेका उनी बुधबार राति साढे ८ बजेतिर सोही गाउँपालिकाको वडा नम्बर २ मा पर्ने मुगु कर्णालीमा रहेको काठको पुलबाट चिप्लिएर नदीमा खसेका थिए।
उनको खोजी कार्य भईरहेको मुगु प्रहरीले जनाएको छ।