मंगलबार, असार ३१, २०८२

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र कोशीले निकाले जीत

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २२, २०८२


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिन विहीबार कर्णाली र कोशी प्रदेशले जीत निकालेका छन्। दुवै टिमले जीत निकाल्दै अंक तालिकामा एक/एक स्थान माथी उक्लिएका छन्।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा घरेलु टोली कर्णालीले बाग्मतीलाई ३ विकेटले पछि पारेको हो। यस्तै कालुङचोक मैदानमा भएको खेलमा कोशीले लुम्बिनीको चुनौतिलाई २१ रनको अन्तरले परास्त गरेको हो।

समान तीन खेल खेलेका यी दुबै टोलीले समान २ खेलमा जीत र एकमा हारसहित ४ अंक जोडेर अंक तालिकामा आप्mनो स्थान पक्का गरेका हुन्। नेट रनरेटका आधारमा कर्णाली दोश्रो स्थानमा चढेको हो।

टस जितेर पहिला ब्याटिङ रोेजेको बाग्मतीले ४७ दशमलव ५ ओभरमा आफ्नो सबै विकेटको क्षतिमा २३८ रनको लक्ष्य तय गरेको थियो ।

बाग्मतिका लागि जोय थापाले १०१ रनको सामना गर्दै ७२ रनको योगदान दिए भने शिवशक्ति महतोले ४६, सुर्यांशु कोइरालाले ४० रन बनाए।

बलिङमा केही सुधारिएको कर्णालीले सावधानीका बावजुद पनि १६ रन अतिरिक्त दिएको हो।

कर्णालीका लागि कैलाश खड्काले ४३ रन खर्चिएर ४ विकेट हात पारे। विपिन शर्माले २ ओभरको मेडन राख्दै ४७ डट बल गर्दा २३ रन खर्चिएर २ विकेट लिए।

यस्तै बलिङतर्फ ३ विकेट लिएर ब्याटिङमा नटआउट सर्वाधिक ६९ रन जोडेका रोशन शाही प्लेयर अफ दि म्याच घोषित भए। भूपेन्द्रजंग शाहीले पनि ५० बलमा ६७ रन बनाए।

त्यसअघि ओपनर कौस्तुभ खड्काले ५४ बलमा ३९ जोड्दा नमनसिंह थापाले १३ र विजय बोहोराले १४ रन जोडे।

बाग्मतिका लागि प्रशिद्ध जैसी र रोमन भट्टराईले समान २÷२ विकेट लिँदा राजेश बोहोरा, रोहित ठाकुर र कमल शाहीले एक/एक विकेट लिए।

उता वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा लुम्बिनीलाई २१ रनले हराउँदै कोशीले पनि लगातार दुई जीतमा ४ अंक जोडेर अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको हो।

कालुङगचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले खेल सकिन १ ओभर बाँकी छँदा सबै विकेट गुमाउँदै १८१ को योगफल खडा गर्यो।

जसमा ओपनर एशिल मण्डलले ६०, रविन मण्डलले नटआउट ३९, शिवांश बजगाईंले १७ तथा सुगम बुढाथोकीले १६ रन जोडे।