आइतवार, असार २९, २०८२

यु–१६ राष्ट्रिय प्रतियोगिता : मधेशको उत्कृष्ट प्रदर्शन, कोशीको निराशाजनक नतिजा

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ २६, २०८२


सुर्खेत। वीरेन्द्रनगरमा जारी १६ वर्ष मुनिको टी.बी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा मधेशले कोशीलाई स्तब्ध पार्दा गण्डकीले निराशाजनक नतिजा हात पारेको छ।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेश प्रदेशका परिमर्जन यादवले २९ बलमा ५४ रनको अर्धशतकीय पारी खेलेपछि कोशी प्रदेश ६ विकेटले स्तब्ध हुनपुग्यो।

टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित ५० मध्ये ४१ ओभर २ बलमा आप्mना सबै विकेट गुमाउँदै जम्मा ११५ रन बनाएको थियो। कोशीका लागि एशिल मण्डलले ५ चौकासहित ५० बलमा ३० रन बटुल्दा शिवांश बजगाई, सुगम बुढाथोकी र कविराज खत्रीले समान १३/१३ रन जोडे। कोशीले २० रन अतिरिक्त गुमाएको हो।

कोशीलाई ईनिंग सहजै सिध्याउने क्रममा मधेशका प्लेयर अफ दि म्याच अभय यादवले आफ्नो १० ओभर बलिङ गर्दा जम्मा २ को औसतमा १ मेडन र ५३ डट खेलेर २० रन खर्चिए। उनैले विपक्षीका महत्वपूर्ण ४ विकेट लिए।

यस्तै नुमैर यादवले किफायति बलिङ गर्दै ३ मेडन ५० डट खेल्दै २० रन दिएर ३ विकेट लिंदा रोहन यादवले २ मेडन ३९ डटमा ३० रन खर्चिएर २ विकेट लिए।

जम्मा ११६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि उत्रिएको मधेशलाई सुशान्त सिहंले २२ बलमा २३ र सन्तु मण्डलले १६ रन जोडे।

यस्तै कालुङचोक मैदानमा भएको अर्को खेलमा बाग्मतीले लगातार तेस्रो जीत निकाल्दा हालसम्म जीतविहीन रहेको गण्डकी ८ विकेटको पराजयसंगै फेरि निराश हुनपुग्यो।

टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले विगतका खेलहरुमा झैं कमजोर प्रदर्शन र सुस्त सुरुवात दोहोर्याउँदा सुप्रिम सुनारको ३२, रिदम पाण्डेको २४ रनको मद्दतमा स्कोरबोर्डमा जम्मा १ सय ३ रन जोड्यो।

गण्डकीका लागि भुवन भट्टराई र राज परियाले समान ६/६ रन बटुल्दा अरु कुनै ब्याटरले ५ रनसमेत कटाउन नसकेपछि ३८ ओभर १ बलमा सबै खेलाडी आउट फर्किए।

शुरुआती एक खेल गुमाएपनि ढाँचामा फर्किएर लगातार जीत हात पारिरहेको बाग्मतीले १०४ रनको लक्ष्य पूरा गर्न २२ ओभरपनि नखेल्दै २ विकेट क्षतिमा अंक तालिकामा थप २ अंक जोड्न सफल भयो।

बाग्मतीका लागि जोय थापाले नटआउट ३४ र शिवशक्ति महतोले १४ रन जोड्दै जीत घोषणा गर्नुअघि प्रसिद्ध जैसीले २० र सूयर्यांशु कोइरालाले १८ रन जोड्दै टीमको जीत लगभग पक्का गरिसकेका थिए। ब्याटिङमा जस्तै बलिङ र फिल्डिङमा पनि फितलो प्रदर्शन दोहोर्याएको गण्डकीका शैलेश काफ्लेले ६ रन खर्चेर १ तथा शुशिल भुसालले २८ रन खर्चेर १ विकेट लिँदा टोलीले अतिरिक्त १८ रन बोनस दिएको थियो।

प्रतियोगिताको सातौं दिनसम्मको खेल सकिँदासम्म ४ खेल खेलेर १ हार ३ जीतसहित ६ अंक जोडेको बाग्मति अंक तालिकाको पहिलो नम्बरमा रहेको छ।

५ खेल खेलिसक्दा ३ जीत र २ हार व्यहोरेको मधेश समान ६ अंकसहित दोस्रोमा छ भने सोही अवस्थाको कोशी नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेका छन्।

यसैगरी ३ खेलमा २ जीत, १ हार व्यहोर्दै ४ अंकसहित चौथो स्थानमा रहेको लुम्बिनीलाई पछ्याईरहेको घरेलु टोली कर्णालीले अहिलेसम्म ४ खेलमा २ जीत र २ हार व्यहोर्दै पाँचौमा छ।

३ खेलमा १ खेल मात्र जितेको सुदूपश्चिम छैठौं र अंकविहीन रहेको गण्डकी सातौं स्थानमा छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार आठौं दिन हुने खेलमा बाग्मति र सुदूरपश्चिम कालुङचोक मैदानमा खेल्नेछन् भने मधेश र लुम्बिनीले वीरेन्द्रनगर मैदानमा खेल्नेछन्।