मंगलबार, असार ३१, २०८२

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता, मधेश प्रदेश तालिकाको शिर्ष स्थानमा

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २७, २०८२


सुर्खेत। वीरेन्द्रनगरमा जारी १६ वर्षमुनिको टीबी स्मृति राष्टिय क्रिकेट प्रतियोगितामा बाग्मती र मधेशले अंक तालिकामा आफ्नो प्रभाव कायमै राखेका छन्।

मंगलबार लुम्बिनीमाथि २ विकेटको जीत हात पार्दै मधेश प्रदेश तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो। त्यसको केही समयपछि अर्को खेलमा बाग्मतीले सुदूरपश्चिममाथि ३२ रनको जीत निकाल्दै मधेशलाई फेरि दोस्रो स्थानमा धकेलेर आफू शीर्षस्थानमा उक्लियो।

आठौं दिनसम्ममा खेलेका कूल ५ खेलमध्ये ४ जीत १ हारसंगै ८ अंक जोडेको बाग्मती अंक तालिकाको पहिलो स्थानमा छ भने मधेश ६ खेलमा २ जीत २ हारसंगै ८ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

प्रतियोगिताको सुरुदेखि नै अंक तालिकाको शीर्ष स्थानमा रहँदै आएका बाग्मती र मधेशबीच पहिलो र दोस्रो स्थानका लागि निरन्तर प्रतिस्पर्धा चलिरहेको छ। अंक तालिकाको शीर्ष स्थान ओगट्ने क्रममा बाग्मतीले डकवर्थ लुईस नियमका आधारमा सुदूरपश्चिमलाई ३२ रन तथा मधेशले लुम्बिनीलाई २ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो प्रभाव कायमै राखेका छन्।

मंगलबार कालुङचोक मैदानमा भएको खेलमा टस हारेपनि पहिला ब्याटिङको निम्तो पाएको बाग्मतीले ५० ओभरको खेलमा ४८ दशमलव २ ओभर खेल्दै २१८ रनको योगफल बनायो।

बाग्मतीका लागि ओपनरद्वय सूर्यांशु कोइराला र प्रशिद्ध जैसीले जिम्मेवारीअनुसारका पारी खेल्दा बाग्मतीले २१९ रनको चुनौतिपूर्ण लक्ष्य खडा गर्न सफल भएको हो। ओपनर सूर्यांशु कोइराला र प्रशिद्ध जैसीले पहिलो विकेटका लागि ७३ रनको उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका हुन्।

४९ बलमा ४५ रन जोडेर अर्धशतकीय पारीका लागि लम्किरहेका सूर्यांशुको यात्रामा ब्रेक लगाउने क्रममा सचिन भट्टको एलबीडब्ल्यू धरापमा परे भने अर्धशतककै होडमा रहेका प्रशिद्ध पनि सचिनकै बलमा रनआउट हुन पुगे।

ओपनरपछिको पारी सम्हाल्न आएका रोहित ठाकुरले ३८, शिवशक्ति महतोले २७, आशिष गुप्ताले २१ तथा सुशिल साँवदले नटआउट १० रनको व्यक्तिगत योग्दान दिए। कसिलो बलिङ गरेका सचिनले खेल अवधिमा आफ्नो जिम्माको १० ओभर सिध्याउँदासम्म १ मेडन तथा ४५ डट खेलेर जम्मा २१ रन खर्चिएर विपक्षीका ५ विकेट लिएका थिए।

अरु ५ जना बलरमध्ये शुशील रावलले ३ र हिमाल दौल्यालले १ विकेट लिएपनि बाँकी कसैले विकेट लिन सकेनन्। बाग्मतीको स्कोरबोर्डमा २५ रन उनीहरुले अतिरिक्ति थपिदिए।

२१९ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउन क्रिजमा उत्रिएको सुदूरपश्चिमेली टोलीका लागि बाग्मतिका बलरसंगै मनसुनी वर्षापनि व्यवधानका रुपमा खडा भयो। ४४ औं ओभर सकिन १ बल मात्र बाँकी रहँदा ८ विकेट गुमाईसक्दा जीतका लागि ३० बलमा ३३ रन चाहिएको अवस्थामा परेको झरीका कारण खेल रद्द हुन पुग्यो। डर्क वर्थ लुईस नियमका आधारमा बाग्मतीले नतिजा आप्mनो पोल्टामा पार्यो। विगतका खेलहरुभन्दा धैर्यतापूर्वक खेलेको सुदूरपश्चिमका लागि खेलको ४० औं ओभरसम्म टिकेका आयूष चन्द राहतका रुपमा देखिए।

बाग्मतीका बलरका लागि खतरनाक सावित हुँदै गएका आयूषको विकेट लिनका लागि बाग्मतीका बलरलाई ४० ओभरको पाँचौ बलसम्म संघर्ष गर्नुपर्यो।

दोस्रो जीतको खोजीमा रहेको सुदूपश्चिम टोलीका ओपनर आयूषले ११६ बलको सामना गर्दा १० चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाउँदा सूर्यांशुको बलमा बोल्ड हुन पुगे। ननस्ट्राईकमा टिकेर साथ दिने भरपर्दो साथी नपाउँदा एक्लै इनिङ धानिरहेका चन्दलाई मिडल अर्डरका भाष्कर जोशीले ७२ बलमा ३० रन जोड्दै दरिलो साथ दिए।

त्यसअघि ओपनर विक्रम बोहोरा जम्मा ७ रन बनाउँदा रोहित ठाकुरको बलमा सूर्यांशुलाई क्याच थमाउँदै पवेलियन फर्किदा रवि दमाई १० रन, रविन भण्डारीले जम्मा ७ रन बनाए।

उता, १२६ रनको चुनौति पछ्याएको मधेशले २५ दशमलव ४ ओभरमा २ विकेट सुरक्षित राख्दै लुम्बिनीको चुनौति पन्छायो। मधेशको जीतमा सन्तु मण्डलेको २८, आयान मुखियाको २३, नुमैर अहमदको १९, माहि यादवको १५ तथा सुशान्त सिंहको १२ रनको महत्वपूर्ण योगदान रह्यो।

लुम्बिनीका लागि प्रिन्स पल र शुभम यादवले समान तीन/तीन तथा लक्ष्मण कुमालले १ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन्।

वीरेन्द्रनगर मैदानमा मधेशविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले १२६ को लक्ष्य मधेशलाई दिएको थियो।

निर्धारित ५० ओभरको खेलमा ३१ ओभर ३ बल खेलेको लुम्बिनीले ९ विकेट गुमाउँदै १२६ रनको योगफल बनाउँदा २ जनाबाहेक लुम्बिनीका अरु कुनै ब्याटरले १० रनपनि कटाउन सकेनन्।

लुम्बिनीका लागि घरेलु प्रतियोगिताको पहिलो दोहारो शतकीय रेकर्ड बनाएका रौनक श्रीवास्तवले आफ्नो शैलीअनुसार खेल्दै ४० रन जोडे।

३८ बलको सामना गर्दै ७ चौकासहित ४० रन बनाउँदा अभय यादवको बलमा नुमैर अलीलाई क्याच थमाउँदै पवेलियन फर्किदा ओपनर केशव विष्टले २५ रनको व्यक्तिगत योगदान दिए। बलिङतर्फ मधेशका अभय यादव, सलमान अली मन्सुरी र रोहन यादवको खातामा दुई/दुई विकेट थपिँदा नुमैर अमहद र राजिवकुमार सदाको नाममा समान एक/एक विकेट रह्यो।

राउण्ड रोविनमा आधारित प्रतियोगिताअन्तर्गत बुधबार नवौं दिनको खेलमा घरेलु टोली कर्णालीले कालुङचोक मैदानमा कोशीसँग प्रतिष्पर्धा गर्नेछ। यस्तै वीरेन्द्रनगर मैदानमा हुने खेलमा सुदूरपश्चिमले गण्डकीसँग खेल्नेछ।