सुर्खेत। अवीरेन्द्रनगरमा जारी १६ वर्षमुनिको टिबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार घरेलु टिम कर्णालीलाई कोशी प्रदेशले ९१ रनले पराजित गरेको छ। कालुङचोक मैदानमा भएको खेलमा कोशीले कर्णालीलाई ९१ रनले पराजित गरेको हो।
यस्तै बुधबारको अर्को खेलमा सुदूरपश्चिमले गण्डकीलाई सात विकेटले पराजित गरेको छ। वीरेन्द्रनगर मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको हो। प्रतियोगिताको फाइनलसम्म टिक्न सुदूपश्चिमले संघर्ष जारी राखेको छ।
टस जितेर बलिङ रोजेको कर्णालीविरुद्ध कोशीले ४४ ओभर १ बल खेल्दै १८२ रनको मध्यम स्कोर खडा गरेको थियो।
कर्णालीका बलरहरुले शुरुवादेखि नै विपक्षीलाई खुलेर खेल्ने मौका दिएका थिएनन्। कोशीका ओपनर अफ्न ताहिरलाई बोल्ड गर्दै रोयल डक बनाएर ईनिङको शुरुवात गरेका विजय बोहराले रविन मण्डललाई ३७ रन र विकास कामतलाई ११ रनमा बोल्ड गर्दै आफ्नो वर्चश्व देखाए।
१० ओभरको बलिङमा कोशीका शिवांश बजगाईंलाई पनि डक आउट गराउँदै शुरुवाती ३ विकेट लिएपनि ४१ डटमा ४१ रन दिएका विजयले १० वाईड र १ नोबल गरी ११ रन अतिरिक्त खर्चिए।
ओपनरमध्येका एशिल मण्डललाई ३८ बलमा १८ रनको व्यक्तिगत स्कोर जोडेको अवस्थामा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले एलबीडब्ल्यूको धरापमा पार्दै पवेलियन फर्काए। कप्तान विपिनले २ दशमलव ५ शून्यको औषतमा १ मेडन, ४५ डट खेल्दै २५ रन खर्चिएर १ विकेट लिए।
कर्णालीका एकेन्द्र बुढाले २८ रनमा ३, नवीन न्यौपानले २४ रनमा २ विकेट झार्दै आफ्नो जिम्मेवारी पूरा गरे।
कोशीका रविन मण्डलले ३७ तथा सातौं क्रमका सुगम बुढाथोकीले ५४ रनको अर्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोरसम्म पुर्याए। यी दुईको बीचमा आएका प्लयेर अफ दि म्याच कविराज खत्रीले १८, विकास कामतले ११ रनको व्यक्तिगत स्कोर थपे
१८२ रनको मध्यम स्कोर पछ्याएको कर्णालीले ओपनरमध्ये कौस्तुभ खड्कालाई १२ तथा नवीन न्यौपानेलाई ४ रनमा गुमाएपछि सम्हालिन सकेन। तेस्रो क्रमका ब्याटर भूपेन्द्रजंग शाही रविन मण्डलको बलमा सुयोग भट्टराई क्याच थमाउँदै गोल्डेन डक हुँदा चौथो नम्बरका नेत्रविक्रम खत्री पनि सुुयोगकै बलमा शिवांशलाई क्याच थमाउँदै शून्यमै डगआउट फर्किए।
कर्णालीका लागि सर्वाधिक २४ रन जोडेका रोशन शाही, १४ रन जोडेका विजय बोहोरा र नमनसिंह थापाले ११ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त भएन।
कोशीका लागि कविराज खत्रीले ४ विकेट लिँदा रविन मण्डल, सुयोग भट्टराई तथा हार्दिक गोठियाको नाममा समान दुईरदुई रह्यो।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकीलाई ७ विकेटले हराउँदै सुदूरपश्चिमले दोस्रो जीत हात पारेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले ४७ दशमलव १ ओभरमा १० विकेट गुमाएर १४२ रन जोड्यो।
गण्डकीका लागि करन गैरेले २७, रोज श्रेष्ठले २५, अनिष श्रेष्ठ १७, शैलेश काफ्ले ११ र विनय कार्कीले १० रन जोडे भने बाँकीले त्यो अंक पूरा गर्न सकेनन्। सुदूपश्चिमका तर्फबाट सुशिल रावलले ३ विकेट आफ्नो नाममा लेखाउँदा राहुल सावँद र हिमाल दौल्यालले समान दुई/दुई विकेट हात पारे।
१४३ रनको लक्ष्य भेटाउन मैदान उत्रिएको सुदूरपश्चिमका लागि ओपनर विक्रम बोहराले जिम्मेवारीपूर्ण पारी खेल्दै १२९ को स्ट्राइक रेटमा ४४ बल खेल्दै ५७ रनको अर्धशतकीय इनिङ पूरा गरे।
करन गैरेको बलमा सुप्रिम सुनारलाई क्याच थमाउनुअघि विक्रमले ८ चौका र २ छक्का प्रहार गरी टिमको जीतका लागि जग बसाले। तेस्रो क्रमका ब्याटर भाष्कर जोशीले नटआउट ४६ रनको योगदान दिँदा आयूष चन्द ७, अविरल विक ८ र लोकेश चन्दले ५ रन जोड्दै जीत निश्चित गरेपछि अरुले ब्याटिङ गर्नुपरेन।
हालसम्म एक पनि खेल जित्न नसकेको गण्डकीका लागि रिदम पाण्डे, सुशिल भूषाल र सुप्रिम सुनारले समान एक/एक विकेट लिए।