शुक्रबार, असार २७, २०८२

कर्णालीका चार पालिकामा लैंगिक समानता प्रवर्द्धनका लागि गरियो विविध कार्यक्रम

  
कर्णाली टाइम्स बुधबार, असार ११, २०८२


सुर्खेत। सामाजिक जवाफदेहिता अभिवृद्धि तथा लैंगिक समानता प्रवर्द्धनका लागि कर्णालीका चार वटा पालिकामा विभिन्न कार्यक्रमहरु गरिएको छ।

सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत सुर्खेतको चौकुने गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका र भैरबी गाउँपालिका, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा तालिम, सचेतना जागरण, सार्वजनिक सुनुवाई, संवाद लगायतका कार्यक्रम गरिएको छ।

ती पालिकाका वडाहरुमा गरिएका उक्त कार्यक्रमहरु लैंगिकमैत्री बजेट निर्माणसँग सम्बन्धित रहेको गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले जानकारी दिए।

यी पालिकाहरुमा प्रोपब्लिकको नेतृत्वमा सुशासन प्रवद्र्धनका लागि युवा संस्था कर्णाली प्रदेश र निड्स नेपाल सुदूरपश्चिमका साझेदारीमा सामाजिक जवाफदेहिता परियोजना सञ्चालनमा छ। हाल कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० स्थानीय तहका २० वटा वडामा यो परियोजना लागु भएको छ।

परियोजना लागु भएका कर्णालीका पालिकाका वडाहरुमा विविध कार्यक्रम आयोजना गरिएको केसीले बताए। नागरिकमा सामाजिक उत्तरदायित्वबारे चेतना फैलाउने, सूचनाको हक सुनिश्चितताबारे जानकारी गराउने, लैंगिकमैत्री बजेट र योजना निर्माण प्रक्रियामा नागरिकको सहभागिता अभिवृद्धि गगर्ने लगायतका उद्देश्सहित कार्यक्रमहरु सञ्चालन गरिएको हो।

उनका अनुसार उक्त परियोजनाले पछाडि पारिएका समुदायहरु महिला, दलित, जनजाती, अपांगता भएका व्यक्ति, सीमान्तकृत तथा धार्मिक अल्पसंख्यक समूहहरूको लक्षित गर्दै सामाजिक न्याय, पारदर्शिता, जवाफदेहिता र लैंगिक समानताको प्रवद्र्धनका लागि प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको छ।

सुशासन प्रवद्र्धनका लागि युवा संस्थाका कार्यकारी समेत रहेका केसीले विभिन्न वडामा सञ्चालन गरिएको कार्यक्रमहरुमा ४४२ जनाको प्रत्यक्ष सहभागिता रहेको जानकारी दिए।

कार्यक्रममा प्रो–पब्लिकका अध्यक्ष डा. निर्मला केसी, महासचिव प्रकाश दहाल, कार्यकारी निर्देशक बाबुराम पौडेल, परियोजना संयोजक पोष्टबहादुर केसी लगायत प्रतिनिधिले अवलोकन गरेका थिए।