बिहीबार, बैशाख ६, २०८१

लकडाउनको मारमा किसान, बिक्री हुन छोड्यो दुध

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख १२, २०७७

सुर्खेत । सुर्खेतका किसानहरु लकडाउनको मारमा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण किसानहरुले उत्पादन गर्ने दुध र अन्य कृषिजन्य वस्तु विक्र हुन छोडेको छ ।
महिनामा लाखौं कमाउने यहाँका किसानहरु लकडाउनका कारण पहिले जस्तो कमाई हुन छोडेको छ ।
पञ्चुपरी नगरपालिका–५ बाबियाचौरका प्रेम बयकले महिनाभरी दूध बेचेरै मासिक डेढ लाखभन्दा बढी कमाउँथे । तर कोरोना भाइसरका कारण भएको लकडाउनले उनको व्यवसायमा धक्का पुगेको छ । ‘गाउँभरीको दुध ल्याएर वीरेन्द्रनगरमा बेच्ने गर्थें लकडाउनका कारण गाडी पनि चल्न दिइएका छैनन् र पहिला जस्तो दुध पनि बिक्रि हुँदैन,’ उनले भने, ‘यस्तो बेला वीरेन्द्रनगरका डेरी र होटेलले दुध लिनै छोडेपछि समस्या भएको हो ।’
वीरेन्द्रनगरका कृष्ण कँडेलले पनि लकडाउनका कारण चैत ११ गतेदेखि दूध बेच्न पाएका छैनन् ।
बयक र कँडेलमात्रै होइन सुर्खेत्का सयौं किसानहरुले लकडाउनपछि दूध बेच्न पाएका छैनन् ।
सुर्खेतका गाउँमा प्रत्येक किसानले भैंसीपा र गाईपालन गरि दुध बेच्ने गरेका छन् ।
विपन्न र आर्थिक रुपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउन गत वर्ष कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले ६० वटा दुहुना भैंसी उपहार दिएको बराहताल गाउँपालिकामा अहिले एकसय भन्दा बढी दुहुना भैंसीहरु छन् । गाउँमा दैनिक ५ सय लिटर दुध उत्पादन हुन्छ । उत्पादित दूध सुन्द्वारी दुध उत्पादन समूहले बिक्री गर्दै आएको छ । तर, लकडाउनका कारण दूध बिक्री भएको छैन ।
दुधसँगै व्यवसायिकरुपमा भैंसीपालन गरेका किसानहरुले भैसीलाई खुवाउने दाना नपाउँदा समस्या भएको बड्डीचौर स्थित सिमलपानी पशु तथा कृषि सहकारीका अध्यक्ष अर्जुनकुमार बुच्चामगरले बताए ।
लकडाउनका कारण सुर्खेतका धरमपोखरा, पाम्का, गर्पन, बाबियाचौर, गुटुलगायत ठाउँबाट दूध ढुवानी भएको छैन । दूधको खपत घटेको भन्दै वीरेन्द्रनगरका डेरीहरुले किसानको दूध ल्याउन मानेका छैनन् । होटल व्यवसाय, विद्यालयहरु बन्द हुँदा दुधको खपत घटेको डेरी व्यवसायीहरुले जनाएका छन ्। लकडाउनपछि ६० प्रतिशत दूध खपत घटेको नेपाल डेरी एसोसियसन कर्णाली प्रदेशका अध्यक्ष प्रेमप्रसाद रिजालले बताए ।
उनले २५ हजार लिटर बढी दूध खपत हुने कर्णाली प्रदेशमा मुस्किलले १० हजार लिटर दुध खपत पनि हुन नसकेको बताए ।
उनका अनुसार ग्रामिण भेगबाट दुध बजारमा आएको छैन । लकडाउनले सबै गाउँ फर्किएका छन् ।
यता, कोरोनाको त्रासका कारण प्रदेश सरकारले बाह्य प्रदेशबाट दूध र दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि बिहान सातदेखि नौं बजेसम्म मात्रै दुध ढुवानी गर्न पाएका छन् ।