बिहीबार, बैशाख ६, २०८१

घरेलुका महिला कर्मचारी १ वर्षदेखि तलबविहीन, आत्मदाह गर्ने चेतावनी (भिडियोसहित)

  
जगतदल जनाला विक शनिबार, असार १३, २०७७

सुर्खेत । २०७३ भदौ ६ गते वीरेन्द्रनगरकी सुमित्रा चपाईंले घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा रिक्त भएको वाणिज्य प्रशासन कोटाको कम्प्युटर अपरेटर करार सेवामा नाम निकालिन् । उनले निरन्तर काम गरिन् । संघीय संरचना अनुसार तत्कालीन घरेलु तथा साना उद्योग विकास समिति प्रदेश सरकार मातहतको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत उद्योग तथा उपाभोक्ता हित संरक्षण निर्देशनालयमा परिणत भयो । प्रत्येक असार मसान्तमा सरकारले ल्याएको बजेट तथा नीति कार्यक्रम अनुसार तलब स्केल पनि बढ्दै गयो । विभिन्न समयमा कार्यालय प्रमुख पनि परिवर्तन भए ।

गत चैतमा कार्यालय प्रमुख मुकुन्दनाथ योगी कार्यालय प्रमुख आए । विभिन्न बहाना बनाउँदैं उनीसहित २ जना अन्य सहजकर्तालाई गत साउनदेखि हालसम्म पनि पारिश्रमिक पाएका छैनन् । न त उनीहरुलाई जागिर सकिएको जानकारी भएको छ न त कुनै कार्यालयमा केही रेकर्ड नै राखिएको छ । ‘केहि गरौंला कमाउँला भनेर २ महिनाको बच्चालाई छोडेरै भए पनि म नियमित कार्यालयमा आएर राजस्व प्रशासन र अपरेटरको काम गरें, तर त्यति मिहिनेत गर्दा पनि पैसा दिइएन,’ सुमित्राले आँसु झार्दै भनिन्, तलबको कुरा गर्दा मन्त्रालय र हाकिम उसले उसलाई भन्दै हामीलाई भुलाउने गरेका छन् ।’

२०७० फागुन र २०७६ बैशाखदेखि सहजकर्तामा नियुक्त भएकी केशकुमारी थापा र तारा बुढाले पनि गत साउन देखि तलब पाउन सकेका छैनन् । केशकुमारी सुर्खेतको गुर्भाकोट नगरपालिका –१ की हुन् भने तारा बुढा जुम्लाको गुठीचौर गाउँपालिका–३ की हुन् । उनीहरु दुबै जना वीरेन्द्रनगरमा कोठाभाडा लिएर बस्दै आएकी छन् । कोरोना भाइरसका कारण लकडाउन भएपछि पनि तलब नपाउँदा थप समस्या परेको उनीहरु बताउँछन् । ‘पहिला त तलब नपाए पनि कोठाभाडा घरबाटै मागेर भए पनि तिर्ने गरेका थियौं, तर अहिले लकडाउनका कारण कतै बाट आउने स्रोत नभएपछि थप समस्या भएको छ,’ सहजकर्ता तारा बुढाले भनिन्, ‘यहि जागीरका कारण हामीहरुलाई घरबाट समेत बारम्बार मानसिक यातना हुने गरेको छ ।’

आफूहरुले काम गरेको पैसा नमिले अछाममा भएको घटना जस्तै आत्मदाह गर्न बाध्य हुने चेतावनी दिइन् । बारम्बार हाकिमसँग आफ्नो पैसाको कुरा गर्दा पनि विभिन्न बहाना बनाउँदै रिसाउने गरेको अर्की पीडित सहजकर्ता केशकुमारी थापाले बताइन् । ‘तलब आउँछ भनेर काम गराउनुभयो नियुक्ति दिनुभयाे,’ उनले भनिन्, ‘तर अहिलेसम्म पनि पैसा पाइएको छैन ।’

कार्यालय प्रमुख मुकुन्दनाथ योगीले आफू चैतको पहिलो साता मात्र कार्यालयमा आएको र उनीहरुको गुनासो सुनेपनि आवश्यक कागजात नहुँदा समस्या परेको बताए । ‘म चैतको पहिलो साता कार्यालयमा हाजिर भएको हुँ, उहाँहरुले मलाई गुनासो गर्नुभयो मैले गुनासो अनुसारका दाबी गर्ने कागजात ल्याउनुस म आवश्यक सहयोग गर्छु भनेको थिएँ,’ कार्यालय प्रमुख योगीले भने, उहाँहरुले त्यो खालको कागजात पेस गर्न सक्नुभएन ।’

भिडियो हेर्न यहाँ क्लिक गनुहोस् :