बुधबार, बैशाख ५, २०८१

मुख्यमन्त्री परिवर्तनकाे ताताे बहसमा प्रधानमन्त्री ओलीले खन्याए चिसाे पानी

  
कर्णाली टाइम्स आइतवार, भदौ १४, २०७७

सुर्खेत । केही दिनयता सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा समेत मुख्यमन्त्री परिवर्तन बहसको विषय बनेको थियो । विशेषगरी कर्णालीमा यो विषय तातो बहस बनेको थियो । सत्ताधारी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री परिवर्तन नहुने अभिव्यक्ति दिएर कर्णालीमा समेत चलेको तातो बहसमा एकाएक चिसो पानी खन्याइदिएका छन् ।

शनिबार साँझ प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाको प्रश्नमा ओलीले भने, ‘मुख्यमन्त्रीहरु अर्को निर्वाचनपछि मात्र बदलिन्छन्, हामी बीचैमा मुख्यमन्त्री फेरेर अस्थिरता निम्त्याउने निर्णय गर्ने छैनौं ।’ उनले कसको के चाहना हुन्छ भन्ने विषयले प्रदेश वा केन्द्र सरकारको नेतृत्व परिवर्तनमा खासै अर्थ नराख्ने पनि बताए । केन्द्रमा भने आफूले मन्त्रिमण्डल परिवर्तन गर्ने विषयमा सोचिरहेको बताए । पार्टीसँग परामर्श गरे पनि उक्त निर्णय प्रधानमन्त्रीको एकल अधिकार क्षेत्रभित्र पर्ने उनको भनाइ छ ।

पत्रकार धमलाले महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलको प्रतिवेदनअनुसार ‘प्रदेश १ र बागमति प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने हल्ला छ नि ? भनेर सोधेका थिए । जवाफमा ओलीले भने, ‘मुख्यमन्त्रीहरू अर्को निर्वाचनपछि मात्र फेरिन्छन्, अथवा उनीहरु नै दोहोरिन पनि सक्छन्, त्यो पार्टीको निर्णय र उतिबेलाको अवस्थामा भर पर्ने कुरा हो ।’

ओलीले स्पष्ट रुपमा मुख्यमन्त्री नफेरिने बताए पनि नेकपा पार्टीभित्रको अवस्था भने फरक छ । समस्या समाधान कार्यदलको प्रतिवेदनले पनि मुख्यमन्त्री र मन्त्रिमण्डल परिवर्तन गर्न सकिने सुझाव दिएको छ । अहिले पूर्वएमालेको भागमा परेका चारवटै प्रदेश (प्रदेश १, बागमति, गण्डकी र प्रदेश ५) मा ओलीपक्षीय नेता मुख्यमन्त्री छन् । मुख्यमन्त्री परिवर्तनको मुद्दा विशेषगरी माधव नेपाल पक्षले जोडतोडका साथ उठाएको विषय हो । पूर्वमाओवादी पक्षले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । पूर्वमाओवादी पक्षमा मुख्यमन्त्री परिवर्तनको मुद्दा खासै चासोको विषय बनेको छैन । बरु पार्टीमा पुष्पकमल दाहालको कार्यकारी भूमिकालाई कसरी संस्थागत गर्ने भन्नेमै बढी ध्यान केन्द्रित देखिन्छ ।

चारैजना मुख्यमन्त्री आफूपक्षीय भएकोले मात्र होइन, मुख्यमन्त्री परिवर्तन गर्ने आशयको अभिव्यक्ति दिनु पनि ओलीको लागि घातक हुन्छ । सुर्खेतका नेकपा समर्थित विद्यार्थी नेता जगत ढकालले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘केही पुच्छरवादी कमरेडहरुले केन्द्रमा स्थायी सरकार चाहियो अनि कर्णालीमा अस्थायी सरकार चाहियो भनी राखिएको माग सम्बोधन होला त ?’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको अभिव्यक्ति ढकालले भनेझैं कोणबाट आएको ठम्याउन कुनै कठिनाइ छैन । प्रदेशका मुख्यमन्त्री हेरफेर हुन्छन् भन्नु भनेको केन्द्रमा पनि प्रधानमन्त्री फेरिन सक्छन् भन्ने संभावनाको ढोका खोल्नु हो । जनताले नेकपालाई स्थायित्वको लागि मतदान गरेकोले कुनै पनि तहका सरकारको नेतृत्व फेरबदल नहुने प्रधानमन्त्रीको तर्कमा भने दम देखिन्छ । कार्यदलले दिएको सुझाव पार्टीको कुनै दस्तावेज वा निर्णय नभएकोले त्यसलाई मान्नुपर्छ भन्ने बाध्यता नरहेको, बरु छलफलको विषय बनाउन सकिने ओलीको भनाइले इतरपक्षको माग तत्काल पूरा नहुने संकेत पनि गरेको छ । अन्तर्वार्ताको क्रममा दाहालसँग सुमधुर सम्बन्ध रहेको बताएका ओलीले नेता नेपालसँगको सम्बन्धबारे ‘रिजर्भेसन’ राखेका छन् । यसले पनि मुख्यमन्त्री परिवर्तनको माग तत्कालको लागि संवोधन नहुने स्पष्ट संकेत गरेको छ ।