शुक्रबार, बैशाख ७, २०८१

कालो धान फलाउँदै मुरारीजंग, सरकारको साथ नपाएको गुनासो (भिडियोसहित)

  
जगतदल जनाला विक शनिबार, भदौ २०, २०७७

सुर्खेत । वीरेन्द्रनगर–१०, खजुराका मुरारीजंग थापा (सुवास) बिबिएस अध्ययन गरेका युवा हुन् । तर, उनी सुर्खेतमा कालो धान उत्पादन गरेर कृषि उद्यममा रमाइरहेका छन् ।

२०५८ सालमा एसएलसी पास गरेका उनले एक वर्षसम्म गैरसरकारी संस्थाको स्वास्थ्य र खानेपानी तथा कृषि परियोजनामा काम गरे । बिबिएस पढ्नेहरुको रहर सामान्यतयाः बैंक तथा वित्तीय संस्थामा काम गर्ने हुन्छ । उनले भने अर्गानिक कृषि पेसालाई अँगाले, त्यो पनि सुर्खेतमा पहिलोपटक कालो धानको खेती गरेर । नेपालमा बेरोजगारी युवाहरुको संख्या दिनप्रतिदिन बढिरहेका बेला मुरारी भने ‘वीरेन्द्रनगर अर्गानिक कृषि फर्म’ मार्फत कालो चामल उत्पादमा व्यस्त छन् ।

उनको कृषि फर्म वीरेन्द्रनगर– १०, भुवानपुरमा छ । उनले आफ्नो १० कठ्ठा र भाडामा लगेको थप २५ कठ्ठामा कालो धान लगाएका छन् । वर्षेनि असार १५ मा लगाएको धान भदौ मसान्तसम्म काटिसक्छन् । अहिले भुवानपुरमा रहेको खेतमा धानका बाला लहलह देखिन्छन् ।

कृषिलाई बढी प्राथमिकता दिने प्रोजेक्टमा काम गरेका कारण पनि मुरारीलाई आफ्नै ठाउँबाट कृषिमा केही नमुना काम गरी अन्य कृषकहरुलाई पनि प्रेरित गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कालो धान उत्पादनमा लागेको बताए । जग्गाको भाडा, बिउ खरिद, अर्गानिक मल खरिद र कामदारको ज्याला कटाएर वार्षिक ३ लाखसम्म आम्दानी हुने उनको भनाइ छ ।

कर्णालीले वर्षेनि विषादियुक्त चामल बाहिरबाट आयात गरिरहेको छ । उनले उत्पादन गर्ने कालो चामल भने अर्गानिक छ । प्रदेशभित्रै बहुउपयोगी कालो चामल उत्पादनले नागरिकको स्वास्थ्यमा फाइदासँगै प्रदेश सरकारले लिएको अर्गानिक प्रदेशको सपना पुरा हुने भएकोले यस्तो पेसा अंगालेको मुरारीजंग बताउँछन् । ‘हामी गरिब प्रदेशका नागरिक भनेर चिनिन्छौं, बाहिरबाट महँगो मुल्यमा विषादियुक्त चामल ल्याएर खान्छौ,’ उनले भने, ‘यहाँ उत्पादन गरिएको अर्गानिक चिजलाई भने वास्ता गर्दैनौ ।’ बाहिरबाट आएका त्यस्ता उत्पादनले नागरिकको आर्थिक र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनले बताए ।

चार वर्षदेखि कृषि फर्मबाट कालो चामल र धानको बिउ उत्पादन गरिरहेका उनले स्थानीय, प्रदेश र केन्द्र सरकार तथा कुनै संघ संस्थाबाट समेत अनुदान पाएका छैनन् । ‘मैले कर्णालीमै पहिलोपटक कालो चामल उत्पादन हुने धानको खेती गर्दै आएको छु, तर मलाई स्थानीय, प्रदेश र केन्द्र सरकारका कुनैपनि कार्यक्रमले प्रोत्साह गर्न सकेको छैन,’ उनले भने, ‘यो धानको बिउ र चामललाई बजार प्रवद्र्धन तथा विस्तार गरे आधुनिक कृषिमा सहयोग पुग्नेछ ।’

कर्णाली प्रदेशका विभिन्न जिल्ला र काठमाडौंलगायत सहरहरुमा कालो चामल र त्यसको बिउको माग हुँदै आएको छ । कर्णालीका हरेक कृषकलाई कालो चामल उत्पादनमा लाग्न प्रेरित गर्ने र कर्णालीलाई कालो चामलको क्षेत्र बनाउने उद्देश्य उनको छ । बिउ र चामलका लागि नेपालभर जहाँबाट पनि उनको मोबाइल नम्बर ९८४८०४११९२ मा सम्पर्क गर्न सकिने उनले बताए ।

कालो चामलको फाइदा
कृषि सुचना तथा प्रशिक्षण केन्द्र हरिहर भवन ललितपुरले कृषि डायरी २०७६ मा ११२ नम्बरमा कालो चामलको पञ्जीकरण गरेको छ । जो धान तराई, भित्री मधेश, पहाड, उपत्यका र वेशीहरुमा उत्पादन गर्न सकिन्छ । कालो चामलमा एन्टीअक्सिड, फाइबर, आइरन, प्रोटिन, न्यून काब्रोहाइड लगायतका पौष्टिकरुपमा भरिपूर्ण तत्वहरु पाइने गर्छन् । एक कठ्ठामा ३ किलोको दरले लगाउँदा एक क्विन्टलसम्म उत्पादन हुन्छ ।

 

भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् :