शुक्रबार, बैशाख १४, २०८१

‘कर्णाली मल’ दशैं अगाडी नै सञ्चालन हुने

  
कर्णाली टाइम्स आइतवार, भदौ २८, २०७७
दशैं अगाडी सञ्चालन हुन लागेको कर्णालीकै पहिलो मल ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ठुलो लगानीमा सञ्चालन हुन लागेको ‘कर्णाली मल’ दशैं अगाडी सञ्चालन हुने भएको छ ।
करिब १६ करोडको लगानीमा सञ्चालन हुन लागेको मल डेकुरेसनको काम सम्पन्न भएको मलका अध्यक्ष अर्जुन पाण्डेले जानकारी दिए ।

कर्णाली प्रदेशका १० जिल्लालाई लक्षित गरी कर्णाली मलको स्थापना गरिएको अध्यक्ष पाण्डेले बताए ।
यही बैशाखमैं सञ्चालनमा ल्याउने गरी तयारी गरेपनि कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनले सञ्चालनमा ढिलाई हुनका साथै व्यवसायमा पनि धक्का लागेको अध्यक्ष पाण्डेको भनाई छ ।

सम्पुर्ण सेवा सुविधा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको मल दशैंअगाडी सञ्चालनमा ल्याइने भएको हो ।
‘विभिन्न कम्पनीहरुले ग्राहकहरुलाई ठगिने भएकोले सेवाग्राहीलाई सस्तो (फिक्स) मुल्यमा सबै सामग्री एउटै ठाउँमा दिनका लागि मलको स्थापना गर्न लागेका हौं’ पाण्डेले भने, ‘उपभोक्ताको दैनिक जिवनमा प्रयोग हुने सम्पुर्ण सामानहरु कपडा, खाद्यान्न, खुद्रा, इलेक्ट्रोनिक्स, रेस्टुरेन्टसममका सुविधाहरु हुनेछन् ।’

देशका विभन्न ठाउँहरुमा भएका मल, सुपरमार्केटकै डिजाइनमा जस्तै कर्णाली मलको स्थापना गर्न लागिएको सञ्चालक धर्मराज ढकालले बताए ।

६ वटा तला भएको घरमा सञ्चालन हुन लागेको मलको डेकुरेसनको सबै काम सम्पन्न भएको छ ।
केही समयमैं सामानहरु हालेर दशैंमा उद्घाटनको तयारी रहेको सञ्चालकहरुको भनाई छ ।