शुक्रबार, बैशाख ७, २०८१

‘पत्थरीले नै मर्छु सोचेको थिएँ, हजुरले बचाइदिनुभयो, यो ऋण कहिले तिरौंला’

  
जगतदल जनाला विक सोमवार, भदौ २९, २०७७

सुर्खेत। भदौ १५ गते बिहान १० बजे सुर्खेतका समाजसेवी, कालाकार तथा तरुणदल अध्यक्ष हरि विष्टको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । वीरेन्द्रनगरकै विभिन्न ठाउँमा समस्यामा परेकालाई खाद्यान्न सहयोग गरिरहँदा फोन उठाउन पाएनन् ।

त्यहाँबाट फर्किएपछि विष्टले फोन फर्काए । कुराकानी गर्दै जाँदा वीरेन्द्रनगर–१२ की ४५ वर्षीय सिला नेपाली रहेछिन् । उनलाई पहिला ‘लकडाउन’ (बन्दाबन्दी) मा विष्टले खाद्यान्न सहयोग पनि गरेका रहेछन् ।

कुराकानीपछि विष्टले के को लागि सम्झिनु भयो दिदी भनेर सोधे, उनले भनिन् ‘एकहप्ता भन्दा बढीदेखि छाती र कोखा दुखेर खटाउन नसक्ने भएँ, थला परेकी छु भाई, पित्त थैलीमा १४ एमएमको पत्थरी छरे, अप्रेसन गर्नुपर्ने आफुसँग पैसा छैन भोकै बसेको पनि केहि दिन भइसक्यो ।’ यो कुरा सुनेपछि विष्टको मनमा दया पलायो । उनकै घरमा गएर विष्टले आफ्नै खर्चमा प्रदेश अस्पताल कालागाउँमा पित्त थैलिको अप्रेसन गराई दिए ।

चार दिनपछि डिस्चार्ज भएर अस्पतालबाट विष्टले आफ्नै गाडीमा घर पुर्याए ।
सिलाका श्रीमान्को मृत्यु भएको आठ वर्ष बित्यो । दुई छोरी र एक छोरालाई दैनिक ज्यालादारी गरेर पालनपोषण गर्दै आएकी उनलाई कोरोनाका कारण समस्यामाथि समस्या थपिएको थियो । आर्थिक अभावका कारण छोराछोरीलाई पढाउन समेत नसकिएको उनले बताइन् ।

‘एक हप्तासम्म थला पर्दा पत्थरीले नै मर्छु लागेको थिएँ, हजुरले मेरो ज्यान बचाइदिनु भयो, हजुरको यो गुण तिर्न नसकेपनि बिर्सने छैन,’ आँशु झार्दै सिलाले भनिन्, ‘मेरा बालबच्चा टुहुरा हुने थिए, भगवान पुज्न मदिर जानुपर्छ सुनेकी थिएँ, मेरा लागि हजुर नै भगवान हुनभयो ।’एकल महिला मजदुरी गरेर नै साँझ बिहानको छाक टार्ने उनको सबै अवस्था देखेपछि २५ हजार रुपैयाँ व्यक्तिगत खर्चमा अप्रेसन गराईदिएको समाजसेवी, कालाकार तथा तरुणदल अध्यक्ष हरि विष्टले बताए ।
विष्टले देशका विभिन्न ठाउँमा कोरोना महामारीले निम्त्याएको लकडाउनका बेला छाक टार्न समस्या परेका, उपचार नपाएका र अलपत्र पाँच सय भन्दा बढी नागरिकलाई सहयोग गर्दै आएका छन् ।

     फोटोहरु