बिहीबार, बैशाख १३, २०८१

तीन बर्षमा कर्णाली प्रदेश सरकारको उपलब्धि: ८ किलोमिटर सडक कालोपत्र, ८८८ किलोमिटर ट्रयाक

  
कर्णाली टाइम्स सोमवार, फागुन ३, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन बर्षको अवधिमा गरेको आफ्नो उपलब्धीहरु सार्वजनिक गरेको छ । सोमबार तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले तीन बर्षको अवधिमा भए/गरेका उपलब्धीहरुबारे संक्षिप्त विवरण उपलब्ध गराएको हो ।
प्रदेश सरकारले उपलब्ध गराएको विवरण अनुसार यो तीन बर्षको अवधिमा सडक पूर्वाधारतर्फ ८८७.८७ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ । १६७ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ८ किलोमिटर सडक कालेपत्रे गरिएको छ ।
यसैगरी पाँचवटा सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण पनि यो तीन बर्षको अवधिमा कर्णाली प्रदेश सरकारको उपलब्धीभित्र परेका छन् ।
यस्तै जनता आवास कार्यक्रममार्फत १ हजार ३३५ वटा आवास निर्माण गरिएको छ । ति आवासहरु बाढीपीडित, आगलागी पीडित लगायतका विभिन्न प्राकृतिक विपत्तिबाट पीडित भएकाहरुका लागि हुन् ।
तीन बर्षमा कर्णाली प्रदेशभरका ४२ हजार ४५४ जनसंख्या लाभान्वित हुनेगरी खानेपानीको आधारभूत सुविधा पुर्याईएको दावी प्रदेश सरकारले गरेको छ । यस्तै ४ हजार २०० हेक्टर जमिनमा बाह्रै महिना पुग्नेगगरी सिचाइँ सुविधा उपलब्ध गराईएको छ ।
कर्णालीवासीको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र स्तर कायम गर्नका लागि कर्णाली प्रदेश अस्पताललाई ३०० शय्या र जिल्ला अस्पतालहरुलाई ५० शय्यामा विकास गर्नेगरी पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ ।
‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरीको’ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका ६ हजार ५०० छोरीहरुको बैंक खाता यो तीन बर्षको अवधिमा खोलिएको छ । यस कार्यक्रमअन्तर्गत २०७६ साउन १ गते यता जन्मिएको छोरीहरुको स्थानीय तहमा रहेका बैंकहरुमा खाता खोलिन्छ । उक्त खातामा सरकारले मासिक ५०० रुपैयाँ रकम जम्मा गर्छ । २० बर्ष पुगेपछि उनीहरुले ब्याजसहित उक्त रकम निकाल्न पाउँछन् ।
यस्तै छोरीबुहारी, दलित जेहनदार, द्वन्द्वपीडित तथा सहिद परिवारका लागि उच्च प्राविधिक शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम पनि कर्णाली प्रदेश सरकारको तीन बर्षे उपलब्धीमा समावेश गरिएको छ ।
कृषितर्फ १० वटै जिल्लामा एक/एक स्थानीय तहमा सहकारी नमूना गाउँ स्थापना, ४४८.१५ किलोमिटर नयाँ कृषि सडक निर्माण, ५१.३७ किलोमिटर कृषि सडक मर्मतलगायत उपलब्धी भएको प्रदेश सरकारले उल्लेख गरेको छ ।
यस्तै कर्णालीका विभिन्न जिल्लाबाट बार्षिक १२ करोड रुपैयाँ बराबरको दुध निर्यात पनि गर्न थालिएको छ । कृषि कर्जामा ब्याज अनुदान दिने व्यवस्था गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत हालसम्म ३२ जना कृषकले कुल ५ करोड ५० लाख रुपैयाँ कर्जा पाएका छन् ।
२०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकारको कार्यकाल सोमबार ३ बर्ष पुगेको छ ।