बिहीबार, बैशाख ६, २०८१

कर्णालीमा ७८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

  
कर्णाली टाइम्स आइतवार, चैत्र ८, २०७७


सुर्खेत । कर्णाली प्रदेशका ७८ हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दुईप चरणमा गरि प्रदेशभरका ७८ हजार २५१ जनाले खोप लगाएका छन् ।
कर्णालीमा पहिलो चरणमा लक्ष्य अनुसार ८२ प्रतिशत मानिसले कोरोना विरुद्धको खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार पछिल्लो चरणमा लक्ष्य अनुसार ७१ प्रतिशतले खोप लगाएका छन् ।
पहिलो चरणको खोप अभियान अन्तर्गत कर्णालीमा ११ हजार जनालाई खोप लगाउनुपर्ने लक्ष्य थियो भने दोस्रो चरणमा १ लाख ७ हजार जनालाई खोप लगाउनुपर्ने लक्ष्य थियो ।
कर्णालीका हिमाली जिल्लाहरुमा हिउँ परेपछि दोस्रो चरणको खोप अभियान प्रभावित बनेको थियो । यसले गर्दा पनि लक्ष्य अनुसार खोप प्रदान गर्न नसकिएको निर्देशक डा. खड्काले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठका अनुसार प्रदेशभर १ हजार ५७० वटा खोप केन्द्रहरुबाट खोप लगाईएको छ । सुरुमा अस्पतालहरुबाट मात्र खोप लगाउने गरिएकोमा दोस्रो चरणमा भने खोप सेसन बनाएर खोप लगाईएको उनले बताए ।
कर्णाली प्रदेशका लागि आएको १ लाख १८ हजार डोज कोरोना विरुद्धको खोप मध्ये बचेको खोप नेपालगञ्ज र कर्णाली प्रदेशका केही जिल्लाहरुमा राखिएको निर्देशनालयले जनाएको छ ।