बिहीबार, बैशाख ६, २०८१

शताब्दी पुरुष सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाज साधना सम्मान

  
कर्णाली टाइम्स बुधबार, चैत्र ११, २०७७


सुर्खेत । कर्णाली साहित्य समाज सुर्खेतले स्थापना गरेको कर्णाली प्रदेशकै ठूलो राशीको पुरस्कार ‘मोहपथ’लाई प्रदान गरेको छ । ललित विष्टद्वारा लिखित मोहपथलाई ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
बुधवार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी कर्णाली साहित्य समाजले स्थापना गरेका विभिन्न पुरस्कारहरु श्रष्टा तथा कृतिहरुलाई प्रदान गरिएको हो ।
यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिएको छ । ताम्रपत्रसहितको यो सम्मान जोशीले नेपाली भाषा, साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रदान गरिएको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले जानकारी दिए ।
नेपाली लोक साहित्य, लोकगीत र बाद्यवादनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लोकसाधक प्रेमदेव गिरीलाई २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा’ पुरस्कार प्रदान गरिएको छ ।
शताब्दी पुरुष जोशीलाई सुर्खेत बोलाएर प्रत्यक्षरुपमा सम्मान गरिने योजना भएपनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित हुन नसकेको अधिकारीले जानकारी दिए । जोशीको तर्फबाट कर्णाली साहित्य समाजका संरक्षक महेशविक्रम शाहले उक्त सम्मान ग्रहण गरेका छन् ।
पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली, यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सह्रानीय छ ।’ मुख्यमन्त्री शाहीले भने । यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाव दिए ।
यसको निरन्तरताले नयाँ पुस्तालाई उर्जा मिल्ने र प्रदेशको समृद्धि तथा विकासका साथै उज्ज्वल भविष्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उनले बताए ।
कार्यक्रममा सम्मानीत स्रष्टाहरुलाई बधाई दिँदै संस्थाका संस्थापक संरक्षक वरिष्ठ कथाकार महेशविक्रम शाहले कर्णालीकै ठूलो र पहिलो पुरस्कारको रुपमा कर्णाली साहित्य समाजले सुरुवात गरेको कार्यले नेपालमा कर्णालीलाई चिनाउन सहयोग पुग्ने बताउ । सबै कुरामा सरकारको मुख ताक्नु भन्दा पनि सबैले आ–आफ्नो क्षेत्रबाट गर्न सकिने कामलाई निरन्तरता दिन पनि उनले आग्रह गरे ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयले भाषा साहित्यका क्षेत्रमा अध्ययन, खोज र अनुसन्धानका लागि गर्नुपर्ने काम गर्ने बताए । सभ्यताको विकास गर्नका लागि भाषा र साहित्यको विकास महत्वपूर्ण रहेको उनले बताए । नेपाली भाषाको उद्गम स्थल नै कर्णाली भएकाले यहाँको भाषा साहित्यको जगेर्नामा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
संस्थाका सल्लाहकार डा. दीपेन्द्र रोकायाले कर्णाली साहित्य समाजले नागरिक स्तरबाट सुरु गरेको कार्य र यसको निरन्तरता सिंगो कर्णालीवासीले गर्व गर्न लायक भएको उनले बताए ।
पुरस्कृत स्रष्टा वरिष्ठ कलाकार प्रेमदेव गिरीले कर्णालीमा भएका लोक साहित्य र कलाको माध्यमले पनि नेपाललाई चिनाएको बताउँदै सरोकारवाला सबैले भाषा साहित्यको संरक्षण र सम्बद्र्धनमा जोड दिनुपर्ने औंल्याए । उनले कर्णालीको साहित्य र लोक संस्कृति संरक्षणका लागि आफू गोठालो भएर लाग्ने पनि प्रतिबद्धता जनाए ।
मोहपथका लेख ललित विष्टले आफ्नो लेखन समाजका लागि भएको महसुश गरेको बताए ।
गतवर्ष कर्णाली साहित्य समाज साधना सम्मान कवि श्यामललाई प्रदान गरिएको थियो भने कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार आख्यानकार एवम् कवि बुद्धिसागरलाई प्रदान गरिएको थियो । यसैगरी कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’लाई प्रदान गरिएको थियो ।