बिहीबार, बैशाख ६, २०८१

गणतन्त्रपछि प्राप्त राजनीतिक उपलब्धीहरु धरापमा पार्न प्रतिगमत भईरहेको छ : मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १५, २०७८
मुख्यमन्त्री महेन्द्र बहादुर शाही

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुस्प्रयासका विरुद्ध खबरदारी गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन् ।
गणतन्त्रको स्थापनापश्चात् समावेशी र समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, संघीयता जस्ता राजनीतिक उपलब्धीहरु प्राप्त भएको उनले बताएका छन् । ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्नेगरी हाल भईरहेको असंवैधानिक र प्रतिगमनकारी कदमप्रति आम नागरिक सचेत रहनुपर्ने उनले औंंल्याएका छन् ।
कोभिड–१९ फैलिईरहेको यो संकटपूर्ण अवस्थाको अन्त्य गर्न प्रदेश सरकार सम्पूर्ण साधनस्रोत र संयन्त्रको परिचालन गरेर लागेको मुख्यमन्त्री शाहीले बताएका छन् । कोभिड नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्यको काममा प्रदेश सरकार गम्भीर भएर लागेको उनले बताएका छन् ।
‘सबै नागरिकको जीवन रक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्तिलगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ । यसैगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत कोभिड प्रतिकार्यमा केन्द्रित गर्ने प्रदेश सरकारको तयारी रहेको छ ।’ मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना विज्ञप्तीमा भनिएको छ ।
कोभिड–१९ ले सिर्जना गरेको अहिलेको परिस्थितिबाट निरास नहुन प्रदेशवासीलाई उनले आग्रह गरेका छन् । कोभिड नियन्त्रणको उद्देश्यले जारी गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न पनि उनले आग्रह गरेका छन् ।