शुक्रबार, बैशाख १४, २०८१

कर्णालीकै ठूलो कृति पुरस्कार यस बर्ष ‘जियारा’लाई

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ६, २०७८


सुर्खेत। कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति ‘जियारा’लाई प्रदान गर्ने भएको छ। ५० हजार राशीको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरिएको हो।
आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोग गरिएको उक्त कृति मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रुढीवादी संस्कार र अन्धविश्वासमाथि प्रहार गरिएको कृतिमध्येको एक हो।
साहितय समाजले स्थापना गरेको ‘कर्णाली साहित्य समाज साधना सम्मान–२०७७’ प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गर्न लागिएको छ।
पुरस्कार तथा सम्मान घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेशविक्रम शाहले तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत डा. सुवेदीलाइ यो सम्मान प्रदान गर्न लागिएको जानकारी दिए।
यस्तै संस्थाले स्थापना गरेको २५ हजार राशीको पुरस्कार सुर्खेतका नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गर्न लागिएको छ।
२०३९ सालदेखि २०७६ सम्म २५ पटक राष्ट्रिय प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक नेपालीलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो।
कर्णाली साहित्य समाजबाट सम्पादित यी कार्यहरु सिंगो कर्णाली प्रदेशको लागि समेत गौरवको विषय भएको साहितय समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले बताए।
आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कारहरु प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी दिईन्।
यसअघि महेश थापाद्वारा लिखित मरीचिका कथा संग्रह र ललित विष्टद्वारा लिखित मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गरिएको थियो।
कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार चर्चित साहित्यकार बुद्धिसागर र वरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई प्रदान गरिएको थियो।
कर्णाली साहित्य समाज साधना सम्मान (ताम्रपत्रसहित) कवि श्यामल र कर्णालीको लोकसंस्कृति लगायतका दर्शनौ कृतिका लेखक शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो।