शुक्रबार, बैशाख १४, २०८१

अहिलेको गठबन्धन दीर्घकालिन हुन्छः देउवा

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक २९, २०७९


सुर्खेत। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनको जीत आवश्यक भएको बताएका छन्। सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धन दलहरुको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षा, स्थायित्व र शान्ति कायम गर्न पाँच दलीय गठबन्धन गरिएको बताए।
उनले अहिले गरिएको यो गठबन्धन चुनावी मात्र नभएर दीर्घकालिन हुने विश्वास व्यक्त गरे।
संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तीव्र आर्थिक विकासमा अहिलेको गठबन्धन केन्द्रित हुने पनि बताए। ‘संसदलाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’ उनले भने, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुहोस्।’
आमसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवका रुपमा सम्झिन आग्रह गरे। गठबन्धनले संविधानको रक्षा गर्दै संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको दाहालले बताए।
‘अहिलेको परिवर्तन सानो दुखले आएको होइन्, १२ बुँदे बिस्तृत शान्ति सम्झौतापछि देश नयाँ युगमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसलाई उल्ट्याउने कुनै दुस्प्रयास नगरियोस्।’
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनको मूल सूत्रधार कर्णाली प्रदेश भएको बताए। उनले नयाँ बन्ने गठबन्धन सरकारले गठबन्धनको सूत्रधार कर्णालीलाई केन्द्रको बजेटमा पहिलो प्राथमिकतामा राख्ने पनि बताए।
उपसभापति खड्काले कर्णाली प्राकृतिक स्रोत–साधनले सम्पन्न भए पनि भौतिक पूर्वाधारमा पछाडि परेकाले केन्द्रको बजेटमार्फत कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइने बताए।