अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा उपकुलपति को बन्छ भन्ने चासो र चर्चा व्यापक छ । यसको लागि ३ जनाको नाम सिफारिस भइसकेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. नन्दबहादुर सिंह, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. केशरसिंह राना र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. जनार्दन लामिछानेको नाम कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश भएको छ । कुलपतिले तीमध्ये एकजनालाई विश्वविद्यालयको तेस्रो उपकुलपतिको रुपमा नियुक्त गर्नेछन् ।
तीनवटै नामसँग उत्तिकै बलियो संभावना छ । योग्यता, क्षमता र राजनीतिक पहुँचका आधारमा कोहीभन्दा कोही कम छैनन् । तीनैजना सत्तासिन नेकपा निकट प्राध्यापकहरु हुन् । पार्टीभित्रको शक्ति समिकरणले नयाँ नियुक्तिलाई निर्धारण गर्ने निश्चित छ । कालिकोट स्थायी घर भएका डा. सिंहले जापानको टोकियो विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । एमयूमा पाहुना पदाधिकारी भरिभराउ भएको टिकाटिप्पणी भइरहेको परिपेक्ष्यमा उनलाई कर्णाली प्रदेशवासी हुनुले केही राहत दिनसक्छ । अर्कोतिर लामो समय त्रिविमा बसेको अनुभवले विश्वविद्यालय हाँक्नको लागि आवश्यक पर्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्बन्ध उनीसँग छ । डा. राना एमयूको डीन हुने एमयूकै पहिलो प्राध्यापक हुन् । विश्वविद्यालय स्थापना लगत्तै भएको नियुक्तिमा उपकुलपतिसहित अन्य पदाधिकारी त्रिविबाट आएका भए पनि राना एमयूका थिए । उनी विज्ञान तथा प्रविधि संकायको डीन नियुक्त भएका थिए । त्यसपछि सेवा आयोगको सदस्य नियुक्त भए । सेवा आयोगमा पनि एमयूबाट पदाधिकारी नियुक्त हुने उनी पहिलो प्राध्यापक हुन् । त्यस्तै, लामिछाने दाङ निवासी हुन् । उनले दक्षिण कोरियाको सन मुन विश्वविद्यालयबाट पीएचडी गरेका छन् । एमयू र कर्णाली प्रदेश बाहिरको भए पनि उनी नेकपाका केही नेताको रुचीमा सिफारिसमा परेका हुन् ।
गत भदौदेखि एमयूको उपकुलपति मात्र होइन, सेवा आयोग अध्यक्ष पनि खाली छ । अदालती प्रक्रियाको कारण रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको निलम्बन लम्बिइरहेका बेला रजिष्ट्रार पद पनि निमित्तको भरमा चलिरहेको छ । त्रिविकै सहप्राध्यापक यामबहादुर कार्की निमित्त रजिष्ट्रारको रुपमा कार्यरत छन् । यस्तो अवस्थामा प्रधानमन्त्री निकट नेकपा नेतृत्वले शक्ति समीकरणलाई ख्याल गर्दै प्याकेजमा नियुक्तिको पहल गरिरहेको स्रोतको भनाइ छ । यस्तो अवस्थामा रानालाई कुनै पनि अवस्थामा रित्तो हात फर्किनु पर्ने छैन । विश्वविद्यालयको आधार क्याम्पसको रुपमा रहेको तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखदेखि ‘एमयूमा एमयूकै पहिलो डीन’, एमयूबाट सेवा आयोगको पहिलो पदाधिकारी रहेको अनुभव र योगदानको कारण पनि उनको आकांक्षामाथि नजरअन्दाज गर्न नेकपा नेतृत्वमाथि सहज छैन । ‘कथंकदाचित उपकुलपति हुन नसकेको अवस्थामा पनि उनलाई सेवा आयोगको अध्यक्ष वा रजिष्ट्रारको मुद्दा टुंगिएपछि रजिष्ट्रार बनाउने गरी सहमति हुनसक्छ,’ नेकपा निकट एमयूका एक प्राध्यापक भन्छन्, ‘उहाँले रित्तो हात फर्किनुपर्ने छैन ।’