फाइल तस्बिर।
काठमाडौं, ५ फागुन ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए ।
‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा उक्त कुरा उल्लेख गर्दै महराका वकिल मुरारी सापकोटाले भने।
अदालतबाट सफाइ पाएलगत्तै महरा डिल्लीबजारस्थित कारागार पुगेका छन्। अदालतले सफाइ दिएको भन्ने औपचारिक पत्र पाएपछि कारागारले महरालाई थुनामुक्त गर्ने जनाएको छ ।
गत असोज १२ गते राति महरा रक्सी सेवन गरी कोठामा आएको र बलात्कार प्रयास गरेको रोशनीले त्यसबेला भिडियोमा भनेकी थिइन्। उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन् ।
सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखिन्थ्यो।
‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट ९गत असोज १३ गते० पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन् ।
त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र भाँचिएको चस्माको खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो ।
यस्तै महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए। उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो ।
तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरिपाउँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरूद्ध महरा पाटन उच्च अदालत गएका थिए ।
महराले आफूमाथि बलात्कार प्रयास गरेको र कुटपिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो। उक्त रिपोर्टले रोशनीमाथि कुटपिट भएको पुष्टि गरेको थियो। पछि अदालत गएर भने रोशनीले आफ्नो कोठामा महरा नआएको लिखित बयान दिएकी थिइन् । यी सबै तथ्य र प्रमाण पन्छाएर अदालतले रोशनीको बयानका आधारमा महरालाई सफाइ दिएको हो ।
सेतोपाटी