बिहीबार, फागुन १०, २०८०

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

  
कर्णाली टाइम्स मंगलबार, फागुन ६, २०७६
शिव मन्दिरमा अर्धनारेश्वरको बनाउँदै गरेको मुर्ति

जगतदल जनाला वि.क 

सुर्खेत, ६ फागुन । वीरेन्द्रनगर–९ स्थित लाटिकोइलीमा रहेको शिव मन्दिरमा ५१ फिट अग्लो ‘अर्ध नारेश्वर’को मुर्ति स्थापना हुने भएको छ । मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिव मन्दिरमा स्थापना गरिने उक्त मुर्तिका लागि २६ लाख रुपैयाँ लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले जानकारी दिए । ‘कर्णालीकै सबैभन्दा पुरानो इतिहाँसका रुपमा रहेको शिव मन्दिर भग्नावशेष रुपमा रहेको थियो, विभिन्न सहयोगी दाताहरुबाट दान मागी हामीले मन्दिरलाई पुनर्निामाण गरेका हौं ।’ मानन्धरले भने । मन्दिरको व्यवस्थापनका लागि गत साउनमा तीन दिने शिवपुराण महायज्ञ आयोजना गरिएको थियो । महापुराणबाट १ करोड ७ लाख २९ हजार ९०० रुपैयाँ संकलन भएको मानन्धरले जानकारी दिए । शिवपुराण महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ध्रव कुमार श्रेष्ठका अनुसार कुल बजेटमध्ये ८० लाख रुपैयाँ बैंकमा मुद्धती खातामा राखिएको छ । बाँकी रकम ‘अर्ध नारेश्वर’ मुर्ति बनाउनका लागि खर्च गरिने श्रेष्ठले बताए ।

वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले नेपालमै यस्तो अग्लो र अर्धनारेश्वरको मुर्ति पहिलोपट स्थापना गर्न लागिएको बताए । एउटै ढुंगाबाट शिव र पार्वतिको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मुर्तिले समाजमा सकरात्मक सन्देश पु¥याउने भएकोले यस्तो निर्णय गरिएको स्थानीय भूषण मानन्धले बताए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट छुट्याउनुपर्ने बताए । बिहिवार अर्धनारेश्वर मुर्तिको शिलान्यास गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा कालि बहादुर शाक्य, नारायण कोइराला, डम्मर जिसी लगायतका व्यक्तिहरुले मन्दिर विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।