जगतदल जनाला विक
सुर्खेत, ८ फागुन । गाडीको ठक्करबाट घाइते भएका भेरीगंगा नगरपालिका –४ का राजु बोेहोराको मृत्यु भएपछि आफन्तले गाडी चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुधबार बिहानैदेखि देखि भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन् । आज दोस्रोदिन प्रहरी कार्यालय अघि घेराउ गर्न गएका मृतक बोहोराका आफन्तलाइ प्रहरीले नियन्त्रण गर्न खोज्दा मृतकका एक जना आफन्त र एक जना प्रहरी जवान घाइते भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक विनोद चौधरीले जानकारी दिए । प्रहरी र आन्दोलनकारी बिच झडप हुँदा छिन्चु बजार थप तनावग्रस्त बनेको छ । मंगलबार बेलुका आठ सडक किनारमा उभिएर फोनमा कुरा गरिरहेका भेरीगंगा–४ का ३२ वर्षीय बोहरालाई बा ३ ख ६३५२ नम्बरको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएपछि आफन्तले बजार बन्द गराएका हुन् ।
प्रहरीले वास्तविक चालकलाई पक्राउ नगरेर नक्कली सवारी चालक खडा गरेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय छिन्चु घेराउ गरेका छन् ।
आफन्तले ठक्कर दिने चालकलाइ कारवाही गर्नुपर्ने र पीडित परिवारलाई १६ लाख क्षतीपूर्ति दिनुपर्ने माग राख्दै अहिले छिन्चुमा प्रदर्शन गरिरहेका छन् । प्रहरी निरीक्षक चौधरीका अनुसारे राजमार्ग खुलाउन र अन्य सम्झौता गर्नका लागि हिंजोदेखि पीडित परिवारसंग वार्ता भइरहेकोे छ ।