शुक्रबार, जेष्ठ ४, २०८१

लाइफ ज्याकेट पाएपछि विद्यार्थी खुसी

  
कर्णाली टाइम्स शनिबार, फागुन १०, २०७६
लाइफ ज्योकेट वितरण पश्चात विद्यार्थीहरु

जगतदल जनाला बिक
सुर्खेत,१० फागुन ।
कैलालीको मोहोन्याल गाउँपालिका–३ राँगा र मलेखाबाट कर्णालीमा डुङ्गा चढेर आउने ५५ जना विद्यार्थीलाई लाइफ ज्याकेट वितरण गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिका ४ बिजौरा जगन्नाथ माध्यामिक विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई डुङ्गा चढ्दा जोखिम नहोस भनेर लाइफ ज्याकेट वितरण गरिएको काठमाडौंको ‘हामी मानवता बचाउँ’ अभियानका सचिव सिताराम चटैतले बताए । काठको डुंगाको साहाराले कर्णाली नदीमा विद्यार्थीहरु वारपार गरिरहेको मिडियामा समाचार पढेपछि आफूहरुले सहयोग गरेको बताए ।
कर्णालीमा पुल नबन्दा त्यस क्षेत्रका विद्यार्थीहरू ३० मिनेट लाग्ने बाटोमा तीन घण्टा हिँडेर अध्ययन गर्न विद्यालय पुग्ने गरेका थिए । ‘डुङ्गाको यात्रा जोखिम हुने भएका कारण पनि बरु दुई घण्टा लामो बाटो बाट पुल तरेर विद्यालय जाने गरेका थियौं ।’ कक्षा १० मा अध्यनरत विद्यार्थी जगत भुलले भने,’ लाइफ ज्याकेट भएपछि डुङ्गाबाट आधा घण्टामै विद्यालय पुग्छौं ।
बिहान उठेदेखि साँझ परेसम्म विद्यालय पुग्न र फर्किन ठिक्कै हुने र अब लाईफ ज्योकट भएपछि वर्षायाममा पनि यात्रा गर्न सहज हुने कक्षा १० मैं अध्ययनरत अर्की विद्यार्थी खगी सलामीले बताइन् ।

पहिला डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै विद्यार्थी

लाइफ ज्याकेटले कर्णाली नदी वारपार गर्न विद्यार्थीहरुलाई सहज हुने र विद्यालयमा नियमितता हुने बताउँछन् जगन्नाथ माविका प्रधानाध्यापक ठम्मर बिसी । मलेखाबाट बिजौरा जोड्ने पुल नहुँदा विगत देखि नै जोखिम मोलेरै विद्यार्थीहरु बिजौरा अध्यन गर्न आउने गरेका छन् ।