जगतदल जनाला वि.क
सुर्खेत उपत्यकामा खानेपानी वितरण प्रणाली डिजिटल प्रविधिबाट गरिने भएको छ । पानीको चुहावट नियन्त्रण र समान रुपले पानी वितरण गर्नका लागि पुरानो प्रणालीको अन्त्य गरि नयाँ प्रणाली अबलम्बन गरेको हो । डिजिटल प्रविधि (स्काडा) प्रणालीबाट खानेपानी वितरण गर्न संस्थाले सम्भाव्यता अध्ययन गरीरहेको छ । डिजिटल प्रविधिका लागि आगामी बैशाखभित्रै डीपीआर तयार गरिसक्ने संस्थाको योजना रहेको उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।
वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले ५० करोड लगानी गर्ने भएको छ । तत्कालका लागि स्किम नम्बर ९ अन्तरगत वीरेन्द्रनगर वडा नम्बर ५, ६, ७, ८ र वडा नम्बर ९, १० को करिब तीन सय मिटरसम्म ड्रोनमार्फत सम्भाव्यता अध्ययन भइरहेको छ । पानी वितरणको असमान प्रणाली हटाउन स्काडा प्रर्णाली सुरु गर्न लागिएको इन्जिनियर विवेक गौतमले बताए । ‘सुख्खा ग्रस्त क्षेत्रमा मात्रै डिजिटल प्रविधिको अध्ययन भइरहेको छ । डिजिट प्रविधि सुरु गर्ने ड्रोनबाट ६० वटा उडान गरेर वस्तुस्थितिको जानकारी लिइसकेका छौं ।’उनले भने,’ स्काडा प्रणालीले पानीको असमान वितरण हुन बाट जोगाउने छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा चालु आर्थिक वर्षभित्र ५० करोड लगानी गर्ने वीरेन्द्रनग नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । उक्त रकम भेरीको पानीलाई लिफ्ट मार्फत उपत्यकामा ल्याई पानीको वितरण गरिने बताइएको छ । संघीय सरकारको खानेपानी ढल निकास विभाग, प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाको समन्वयमा भेरीको पानी उपत्यकामा ल्याउन थालिएको छ । आयोजनाका लागि कुल लागतको ९० प्रतिशत संघिय सरकार र प्रदेश सरकारले लगानी गर्नेछन् भने १० प्रतिशत रकम उपभोक्ताको लगानी लाग्नेछ ।
संघीय खानेपानी तथा ढल निकास विभाग, प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र संस्थाको चौपक्षीय सहकार्यमा भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने तयारी छ । भेरीको पानी अमृत डाँडासम्म ल्याउन संघीय सरकारले लगानी गर्ने छ भने पानीको वितरण प्रदेश सरकाले गर्ने संस्थाले जनाएको छ । जसका लागि संस्थाले सम्भाव्यता अध्ययन गरी लिफ्टिङ स्थलमा काम गरी रहेको छ ।
खानेपानीको अध्याधिक चुहावट हुन थालेपछि संस्थाले तत्काल पुराना पाइपलाइनहरु हटाउने तयारी थालेको छ । पुरानो पाइपलाइनै कारण करिव ३६ देखि ४० प्रतिशतसम्म पानी चुहावट हुँदै आएकोले यस्तो तयारी थालेको हो । प्रदेश सरकारको सहयोगमा २०३६ सालमा बिच्छाइएका झण्डै ५४ किलोमिटर पाइपलाईन विस्थापित गरिने बताइएको छ । उपत्यका खानेपानी संस्थाले १८ हजार नयाँ धारा जडान गर्ने लक्ष्य राखेको छ । जम्मा ३६ हजार धारा आवश्यक पर्ने भएपनि १८ हजार घरहरुमा धारा जोडिसकिएकोले अब र आधामा दोस्रो चरणमा जोडिने अध्यक्ष देवकोटाको भनाई छ । पानी आपूर्ति गर्न सम्भव नहुँदा दुई वर्ष अघिदेखि पाँच हजार भन्दा बढी उपभोक्ताले धारा जडानका लागि आवेदन दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गनुहोला ।