सोमवार, मंसिर १७, २०८१

‘भाडामा अटो चलाएरै पनि साझाघरलाई बचाउने हिम्मत राखें’(भिडियो कथा)

  
कर्णाली टाइम्स शुक्रबार, फागुन १६, २०७६


जगतदल जनाला वि.क
सुर्खेत । कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरका तपेन्द्र विक २५ वर्षीय युवा समाजसेवी हुन् । सानै उमेरदेखि दयालु र समाजसेवामा रुची राख्ने विकका परिवारको सपना थियो, ‘आँखासम्बन्धी डाक्टर बनाउने ।’ २०६९ सालमा कक्षा ११ पढ्दा पढ्दै उज्यालो नेपाल संस्थासँग जोडिन पुगे । एक वर्ष जति त्यहाँ काम गरिसकेपछि उनी पढ्नका लागि भारतको पुने युनिभर्सिटी गए । दुई वर्षको बसाइँपछि २०७२ मा नेपाल फर्किएका तपेन्द्रले उज्यालो नेपाल नामक संस्थामा काम गर्ने क्रममै सामाजसेवी बलबबहादुर विष्टसँग उनको भेट भयो । त्यसपछि उनी असहायका लागि सहयोगी हातहरु भन्ने संस्थासँग जोडिएर औषधि उपचार नपाएका, सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई सेवा गरे । पढ्नका लागि उनी भारत गए पनि उनलाई बारम्बार नेपालमै आएर फेरि असहाय, गरिब दिन दु:खीको सेवा गर्ने कुरा मनमुटुमा खड्की रहन्थ्यो । घरका बुवा आमाको इच्छा उनलाई आँखाको डाक्टर पढाउने त्यागेर दिन दुखीको सेवामा लाग्न आफूलाई रुचाउँछन् । लामो समयसम्म कैलालीको विभिन्न ठाउँमा बिचल्लीमा परेका सडक बालबालिका, महिला, परिवारविहीन वृद्धवृद्धालाई उद्दार गरी सहारा घरमा ल्याई सेवा गर्ने काम गरे । त्यसपछि उनी २०७५ चैत २० मा सुर्खेत आएर साझाघर संस्था दर्ता गरी उनी जस्ता अन्य समाजसेवी युवाहरुसँग समन्वय गरी स्वयम्सेवकका रुपमा साझा घरको स्थापना गरे । अहिले उक्त साझाघरमा महिला, पुरुष, बालबालिका, वृद्ध असाहय, अपाङ्ग गरी २७ जनाले आश्रय लिइरहेका छन् । ‘एक दुई महिनासम्म साथी भाइ र आफ्नै पैसामा २७ जनालाई व्यस्थापन गरियो । महिना बित्दै जान थाल्यो उनीहरुको व्यवस्थापनका लागि स्रोतको अभाव भयो । पसलमा पनि उधारो ल्याएको ६० हजार पुगी सक्यो,’ उनले भने । उनीहरुको व्यवस्थापनका लागि अटो भाडामा लिई त्यसैको आम्दानीबाट यी आमा बुवा र भाइबहिनीलाई चामल किनेर खुवाउने योजना बनाएको थिए ।
समाजसेवी कृति शाक्यसँग जोडिएपछि विभिन्न संस्थाहरुसँग समन्वय भएपछि खाद्यान्न सहयोग भएको तपेन्द्रले बताए । खाद्यान्नकोे जोहो भएपछि उनको अटो चलाउने योजना सफल भएन ।
संकटमा साझाघर


२०७५ चैत २० मा खोलिएको साझाघर नामक संस्था पछिल्लो समय सहयोगको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । अहिलेसम्म सञ्चालकहरुको व्यक्तिगत, जन्मदिन, विवाह उत्सव, संघ संस्थाहरुको वार्षिक उत्सवमा जुटेको खाद्यान्न र सहयोगले चलेको छ । कहिलेकाहिँ हुने यस्ता कार्यक्रमले मात्र व्यवस्थापन गर्न समस्या परेका भन्दै सञ्चालकहरु सहयोगी हातहरुको खोजीमा छन् । स्थानीय तथा प्रदेश सरकारलाई पटक–पटक सहयोगको अपिल गरे पनि सहयोग नभएको संस्थाका अध्यक्ष भीमबहादुर विकले गुनासो गरे । संस्था बन्द भएपछि आफू कहाँ जाने भन्ने चिन्ता भएको कालीकोट खाँडाचक्र–५ का मानबहादुर नेपालीले बताए । ‘घरमा पनि कोही छैनन् यही संस्थाले यहाँसम्म ल्याएपछि हामीलाई बाच्न सहज भएको छ । संस्था नै बन्द भएपछि के गर्ने होला, कहाँ जाने होला भन्ने चिन्ता लाग्ने गरेको छ,’ उनले भने ।
यस्तै देलेखका रविन्द्र पनि कक्षा ४ साझाघरमै बसेर पढ्छन् । सहयोगको अभावमा साझाघर बन्द हुन लागेको छ भन्ने सुनेपछि बारम्बार चिन्ता लाग्ने गरेको बताए ।

भिडियो हेर्न यहाँ क्लिक गनुहोस ।