जगतदल जनाला विक
सुर्खेत । चौकुने गाउँपालिका–२ लगामका रुद्र बान्तोलालाई विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)संक्रमणको डर छ । त्यसैले उनी र गाउँले मिलेर पश्चिम सुर्खेतकोे प्रशिद्ध र शक्तिशाली देवता मानिएको मटियार ‘चिउराडी’ देवतालाई कोरोनाबाट बच्न गाउँवासीका नाममा बोका भाकल गरेका छन् । ‘कोरोना आउन नदिन हाम्री लगाम बासीले चिउराडी देवतालाई बोका भाकल गरेका छौं,’ बान्तोलाले भने, ‘बम्बईबाट आउने मानिसको संख्या बढी देखिएपछि त्यो डरले भाकल ग¥यौं अब संक्रमण गाउँमा आउने छैन ।’
सुर्खेतको पश्चिमी भेग कैलाली, अछाम र डोटीको सिमानामा पर्ने लगाममा भारतबाट आउने सयौं युवाहरु गाउँ भित्रिएका छन् । भारतमा कोरोनाको संक्रमण जठील रुसमा देखिन थालेपछि त्यहाँबाट गाउँ आएका युवाहरुबाट स्थानीय त्रसित बनेका छन् ।
यस्तै चौकुने–२ कै धर्मा विकले पनि कोरोना भाइरस नलागोस भनेर आफ्नो कुलायन देवतालाई भाकल गरेकी छन् । ‘पुर्खादेखि मानिआएको हाम्रो देवताले हाम्रा मनका कुरा सबै पु¥याउँछ,’ विकले भनिन्,’ त्यसैले यो भाइरसबाट पनि हाम्रो देवताले बचाउँछ ।’
पश्चिम सुर्खेतमा धार्मिक देवी, देवता र भगवानप्रति आस्था र विश्वास राख्ने भएकाले भाकल गरेपछि मले सोचेको पुग्ने स्थानीय विष्ना बान्तोला बताउँछिन् ।
गाउँमा क्वारेन्टाइन नहुँदा संक्रमणको जोखिम
जिल्लाका गाउँहरुमा क्वारेन्टाइन नहुँदा संक्रमणको जोखिम बढेको छ । लकडाउन भन्दा पहिला भारतबाट फर्केका युवाहरुले सिमामा ज्वरो नापेकै आधारमा गाउँमा आएका छन् । उनीहरुका लागि गाउँमा क्वारेन्टाइन नभएपछि गाउँले त्रसित बनेको चौकुने–२ का देविलाल सुनारले बताए ।
यता कर्णाली प्रदेश सरकारले सिमा नाकामा बिचल्लीमा परेका एक सय दुइ जनालाई उद्दार गरि होटेल अशोका र अन्तरनिर्भर समाजको होस्टेलमा राखेको छ । वीरेन्द्रनगरस्थित खेलामञ्चमा क्वारेन्टाइनको काम पुरा नहुँदा ७२ जना पुरुष र ६ जना महिलालाई हाटेल अशोकामा र २४ जना पुरुषहरुलाई अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको छ । त्यहाँ अहिले बनेका चार सय क्वारेन्टाइनमा बेड, शौचालय, खानेपानी लगायतका अन्य सुविधा तयार गर्ने काम चलिरहेको छ ।
चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले सिमानाकाबाट आएका व्यक्तिहरुलाई हेल्थ डेक्समा ज्वरो नाप्ने, सुरक्षित बस्न सुझाव दिने र उनीहरुलाई निगरानी गरि लक्षण भेटिए प्रदेश अस्पतालमा पठाउने तयारी गरिएको बताए । चौकुनेका चार वटा स्थानमा हेल्थ डेक्स राखी प्रचारप्रसार गरि सुरक्षित बस्न गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको अध्यक्ष शाहीको भनाई छ ।
कोरोनाको जोखिमबाट बच्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गत शुक्रवार कोरोना भाइरस रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न भारतमा रहेका नेपालीलाई १० दिनभित्र कर्णालीमा फर्कन निर्देशन दिएको थियो । सोही बैठकबाट भारतबाट आउने नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको थियो । तर अहिले रुपडिया र गड्डाचौकीबाट उद्दार गरि ल्याइएका एक सय दुइ जना बाहेक अन्य भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बसेका छैनन् ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भारतबाट गाउँमा आएका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिने बताइन् । ‘लकडाउन भन्दा पहिला जो गाउँमा आएका छन् उनीहरुलाई क्वारेनटाइनमा बनाएर राख्न स्थानीय तहलाई समन्वय गरेका छौं,’ उनले भनिन, ‘यदि त्यस्ता शंकास्पद व्यक्तिहरु भए क्वारेन्टाइनमा राख्ने वातावरण मिलाउन स्थानीय तहले पहल गर्नेछन् ।’