सोमवार, मंसिर १७, २०८१

कर्णालीमा २५८ आइसोलेसन बेड तयार

  
कर्णाली टाइम्स शनिबार, चैत्र १५, २०७६

सुर्खेत — कर्णाली प्रदेश सरकारले १० वटै जिल्लाका अस्पतालमा आइसोलेसन बेड बनाउने काम तीव्र पारेको छ । हालसम्म कर्णालीमा २ सय ५८ आइसोलेसन बेड तयारी अवस्थामा रहेका प्रदेश सरकारले जनाएको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २० आइसोलेसन बेड तयारी अवस्थामा छन् ।

आइसोलेसन बेड तयार पारिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ।

प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रुकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालीकोटमा ७ आइसोलेसन बेड तयारी अवस्थामा रहेका उनले बताए ।

कान्तिपुर डटकमका लागि चाँदनी कठायत लेख्छिन् प्रदेश सरकारले बिहीबार मन्त्रिपरिषद्को बैठकबाट कर्णालीका तीन अस्पतालमा आइसोलन बेड र अन्य आवश्यक सामग्री थप गर्नका लागि भन्दै साढे २ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक/एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेट छुट्याउने निर्णय गरेको थियो । उक्त बजेट आईतबारसम्म तीनवटै अस्पतालमा पठाइसक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । यो बजेटले अस्पतालमा आइसोलेसन बेड थप्ने र अन्य उपकरण खरिदलगायत काम गरिने उनको भनाइ छ । यो बजेटले आइसीयु, भेन्टिलेटर, मेडिकल किटस्लगायत खरिद गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले ५० वेड आइसोलेसन तयारी अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार एक परियोजनाले ५० बेड सहयोग गर्ने भएको छ । उनका अनुसार अस्पतालले आवश्यक मेट्रस पनि मगाइसकेको छ । ‘प्रदेश अस्पतालले दिने बजेटले अरु बेड थप हुनेछन्,’ उनले भने,’ उनले भने, ‘हामीले अर्डर गरेको मेट्रस आएपछि पनि दुई सय बढीका लागि बेड तयार हुन्छन् ।’ प्रदेश सरकारले आइसोलेसन बेडसँगै जनशक्ति पनि थप गर्न पहल गर्नुपर्ने डा. खड्काले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले १ सय २० आइसोलेसन तयारी अवस्थामा रहेको भन्दै प्रदेश सरकारको बजेटले बेड थपेसँगै अन्य आवश्यक उपकरण खरिद गरिने बताए । उनका अनुसार प्रतिष्ठानमा जनशक्ति पर्याप्त मात्रामा छन् । प्रतिष्ठानमा कार्यरत ४५ जना चिकित्सक नै बिदा नलिई काममा खटिइरहेका उनले बताए । ‘डाक्टर कर्मचारी कसैलाई पनि छुट्टि नदिएर हामीले खटाईरहेका छौँ,’ उनले भने, ‘कोरोनाको संक्रमण कर्णालीमा पनि देखिएमा त्यसको सामना गर्नका लागि डाक्टरहरुको हौसला बढाउने काम पनि भइरहेको छ ।’

चौरजहारी सामुदायिक अस्पतालका अस्पताल प्रशासक डिलबहादुर गिरीले तत्काल ४ बेड मात्र आइसोलेसन तयारी अवस्थामा राख्ने गरी काम गरिरहेको बताए । ‘बेड त हामी बढाउन सकिहाल्छौँ,’ उनले भने, ‘तर आइसोलेसनमा संक्रमितलाई राख्नुपरेको खण्डमा त्यसका लागि जनशक्ति र उपकरण पनि चाहिन्छ, अहिले अस्पतालमा भएको जनशक्तिले मात्रै सकिँदैन ।’

उनले स्वास्थ्यकर्मीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), मास्क र अन्य उपकरण पनि नभएको भन्दै यसतर्फ कर्णाली सरकार सचेत हुनुपर्ने बताए । प्रशासक गिरीले आफूहरु तयारीमा अवस्थामा बसेको उल्लेख गर्दै कम्तिमा पनि ४ सिफ्टमा काम गर्न पुग्ने गरी स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्नुपर्ने जनाए । साथै उनले कोरोनाको संक्रमण छ/छैन भनी नमुना संकलन गर्न पनि समस्या हुने बताए । ‘स्याम्पल जाँच गर्ने कर्णालीमै सुविधा छैन,’ उनले भने, ‘स्याम्पल लिएर तुरुन्तै काठमाडौं पठाउन पनि समस्या हुन्छ, यसतर्फ पनि कर्णाली पहिले नै सजग भई कर्णालीमै ल्याबको व्यवस्था गर्न सरकार लाग्नुपर्छ ।’