आइतवार, मंसिर ३०, २०८१

स्वास्थ्य सामग्री ल्याएर आए राज्यमन्त्री रावत

  
जगतदल जनाला विक सोमवार, चैत्र १७, २०७६
सामग्री ल्याएर आएको नेपाली सेनाको स्काइट्रक

सुर्खेत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत नेपाल सरकारले चीनबाट खरिद गरेका सामग्रीहरु सोमबार सुर्खेतमा पु¥याएका छन् । नेपाली सेनाको स्काइट्रक बाट सोमबार बिहान ११ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्त्ररण गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयलाई चीनबाट आएका सामग्रीहरु मध्य गाउन १ हजार, एन ९५ मास्क ४८० थान, आइआर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान हस्तान्त्रण गरिएको छ ।

एकहप्ताभित्र ल्याबका सामान पु¥याउने प्रतिवद्धता

काठमाण्डौंबाट ल्याएका सामग्री कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई हस्तान्त्रण राज्यमन्त्री रावत

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सोमवार उपलब्ध सामग्री हस्तान्त्रण गर्दै चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन एकहप्ता भित्र सुर्खेतमा ल्याउने बताएका छन् । ‘कर्णालीका लागि आएको सामग्री अन्त कहिं पनि जाँदैन,’ राज्यमन्त्री रावतले भने, ‘एकहप्तामा कोरोना जाँचका लागि आवश्यक ल्याव र दक्ष जनशक्ति आउँछ ।’
राज्यमन्त्री रावतका अनुसार आज साँझसम्म मेसिनको परिक्षण गरेर एम्बुलेन्समार्फत सुर्खेत पठाइने छ ।
‘यो विषम परिस्थितिमा सबैले सरकारले गरेको निर्णयको पालना गर्दै सुरक्षित भइदिन अनुरोध गर्दछु,’ रावतले भने, ‘कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि हामीले तीन तहका सरकारसँग समन्वय गरि आवश्यक कदम चालेका छौं ।’
जो जहाँ छौं त्यहिंबाट सुरक्षित हुनु जरुरी रहेको बताउँदै राज्यमन्त्री रावतले नागरिकको स्वास्थ्य र अन्य विषयमा सरकारले गम्भीर तरिकाले सोचेको जानकारी दिए । यस्तो परिस्थितिमा स्वास्थ्यकर्मी र सरकारी तथा निजी स्वास्थ्य कार्यालयहरुले विभेद नगरि उपचार गर्न अनुरोध समेत गरे ।
‘यो संकटको घडीमा नीजि अस्पतालहरु पनि भाग्न पाउँदैनन्, फाइदा लिनुमात्र आफ्नो दायित्व नलिई जनसेवाको भावना पनि नीजि अस्पतालले राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘संकटका बेला भाग्ने निजी अस्पतालहरुलाई कार्बाही गरिन्छ ।’
कणाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा ल्यावको लगायत अन्य सामग्रीको अभावमा केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयले समस्या समाधानको लागि सदैव पहल गरिदिन अनुरोध गरे ।