शुक्रबार, असोज १८, २०८१

काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

  
कर्णाली टाइम्स शनिबार, फागुन २४, २०७६
काम गरेको ज्याला नपाएका एक जना कामदार हस्तविर थापा ।

जगतदल जनाला विक
सुर्खेत । २०७१ सालमा साबिक लगाम गाउँ विकास समिति हुँदा हाल चौकुने गाउँपालिका–२ लगाममा गाउँघर क्लिनिकका लागि गाविसले एकलाख छुट्यायो । निर्माण समितिको संयोजक मन्धरा सावद बनिन् । सावद अहिले चौकुने गाउँपालिका कार्यापालिकाकी सदस्य हुन् । हस्तबहादुर थापामगरको समन्वयमा १० जना कामदारले काठको काम गरे । एकलाख मध्ये साबिक गाविसले आलटाल गरि ८५ हजार मात्र रकम दियो । गाविसले अर्को वर्षको बजेटमा मिलाउने भन्दै फेरि ढुङ्गा निकाल्न लगायो । १० दिन काम गसिकेपछि यो वर्ष पैसा छैन भनेर काम नगर्न निर्देशन दियो । २०७४ मा अर्को निर्माण समिति बन्यो । त्यस निर्माण समितिको अध्यक्ष साविक गाविस महिला सञ्जालकी अध्यक्ष चन्द्रकला जैसी बनिन् । धोजबहादुर कठायतलाई फेरि भवन बनाउन ठेक्का दिइयो । पुरानै कामदारले तयार गरेका काठ, ढुङ्गा सरिया प्रयोग गरियो । पुराना कामदारले अस्थायी प्रहरी चौकी लगाममा उजुरी दिए । दुबै उपभोक्त समितिका अध्यक्ष र कामदारलाई प्रहरीले बोलाएर छलफल ग¥यो । दुबै जना निर्माण समितिका अध्यक्षले तिछौं भनेर उनीहरुले मौखिक वचन दिए । धेरै महिना बितिसक्दा पनि कामदारले पैसा पाएनन् । फेरि सर्वदलीय बैठक बसाइयो उनीहरुले पनि वास्ता गरेनन् । ‘त्यतिबेला गविसका दलका नेता नै अहिले वडा अध्यक्ष छन् । तर उनीहरुले वास्ता गर्दैनन् ।’ कामदार हस्वीर थापाले भने,’ बजेट छुट्याउने र गाविसमा हालिमुहाली गर्ने त्यतिबेलाका राजनीतिकदलका प्रतिनिधिहरु अहिले वडा अध्यक्ष हुँदा पनि हामीले गरेको पसिनाको मुल्य दिन आलटाल गरेका छन् । थापा सहित १० जनाको एकलाख तीन हजार रुपैयाँ काम गरेको लिन छ ।
त्यति मात्र होइन् हस्तवीरले आफुहरुको काम गरेको पैसा लिनका लागि २०७६ साउन २४ मा जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालयमा समेत निवेदन ल्याएर आए । तर प्रहरी, प्रशासनले पनि लेनदेनको विषयमा आफुहरुले केहि गर्न नमिल्ने भन्दै गाउँपालिकाको न्यायिक समितिमा जान लगाए । फेरि हस्तविरले कामदारका हाजिर र निवेदन सहित साउन २६ मा चौकुने गाउँपालिका गएर निवेदन दिए । गाउँपालिकाले तीन महिना पछि असोजमा बल्ल तल्ल पुराना उपभोक्ता समितिका संयोजक एवंम् कार्यपालिका सदस्य मन्धरा सावंद र चन्द्रकला जैशीलाई बसाई छलफल ग¥यो । गाउँपालिकाले पनि वडाबाट बजेट मिलाउ भन्दै कामदारलाई वडामा पठायो । ‘आफ्नो घर खर्च चलाउनका लागि काम ग¥यौं । तर पाँच वर्ष बितिसक्दा पनि कामको पैसा पाएनौं ।’ अर्का कामदार पाण्डव बान्तोलाले भने,’ अहिले सबै संग पैसाको कुरा गर्दा कसैल वास्ता गदैनन् ।
कामदारलाई घरखर्चका लागि तीन रुपैयाँ ब्याज दिने सर्तमा ल्याइएको २० हजार ऋण अहिले ४७ हजार पुगेको छ । वडापालिका भने स्रोत जुटाएर रकम दिने आश्वासन मात्र दिने गरेको कामदारहरुको गुनासो छ । उक्त भवनमा अहिले चौकुने गाउँपालिकाको गाउँपालिकाको गाउँघर क्लिनिक बसिरहेको छ ।
यता चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले साबिक गाविस हुँदा पहिलेको पुरानो समस्या भएका कारण त्यही वडाका जनप्रतिनिधिहरु बसेर कुरा मिलाउन पठाएको बताए ।
नेपालको श्रम ऐन २०७४ को परिच्छेद ८ अन्तरगत ३५ को (क) र (ख) बुँदामा एक महिनाभन्दा कम अवधि काम गर्ने श्रमिकलाई काम समाप्त भएको मितिले तीन दिनभित्र र आकस्मिक काम गर्ने श्रमिकलाई काम समाप्त हुनासाथ ज्याला दिनुपर्ने व्यवस्था भएपनि उनीहरुले काम गरेको  पाँच वर्ष बितिसक्दा समेत ज्याला पाएका छैनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।