शुक्रबार, असोज १८, २०८१

कर्णालीका पाँच हेल्थडेस्कबाट १६ हजार पाँच सयले गरे स्वास्थ्य परिक्षण

  
कर्णाली टाइम्स आइतवार, चैत्र २, २०७६

सुर्खेत । कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न कर्णाली प्रदेशका पाँच वटा नाकाहरुबाट १६ हजार पाँच सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । फागुन २२ गते देखि चैत १ गते सम्म प्रदेशभित्र आउने मानिसहरुले स्वास्थ्य परिक्षण गरेका हुन् ।
कोरोना भाईरसबाट बच्नका लागि कर्णाली प्रदेश सरकारले पनि सबै नाकाहरुमा हेल्थडेक्स स्थापना गरेर स्वास्थ्य परिक्षणसँगै चेकजाँचमा कडाइ गर्न थालेको हो । कर्णालीमा कोरोनाका संक्रमितहरु भित्रन नदिन ६ नाकाहरुमा हेल्थडेस्क स्थापना गरिएका छन् । स्वास्थ्य निर्देशनालय कर्णालीका भ्याक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यका अनुसार फागुन २२ गते स्थापना भएको सुर्खेत बिमानस्थलको डेक्सबाट दैनिक ४५ जनाको सङ्ख्यामा स्वास्थ्य परिक्षण गरेका छन् । फागुन २५ गते स्थापना गरिएको बबई हेल्थडेक्सबाट दैनिक तीन हजारले स्वास्थ्य परिक्षण गर्ने गरेका छन् । फागुन २६ गते स्थापना गरिएको हुम्ला एअरपोर्टको डेक्सबाट दैनिक ४० जनाले स्वास्थ्य परिक्षण गरेका छन् । फागुन २७ गते स्थापना गरिएको कुइने हल्थडेक्सबाट दैनिक ६० जनाले परिक्षण गरेका छन् । फागुन ३० गते स्थापना गरिएको हुम्लाको मिचु एल्बाई हेल्थडेक्समा स्वास्थ्य जाँच गरिएकाको सङ्ख्या आएको छैन । यस्तै चैत १ गते स्थापना गरिएको सल्यानको कपुरकोेट हेल्थडेक्समा दैनिक एक हजार जनाले स्वास्थ्य परिक्षण गर्दै आएका छन् । संक्रमितहरु फेला परेमा तत्काल कसरी आइसोलेसन कक्षमा उपचार गर्ने भन्ने विषयमा सरकारले विशेष रणनीति अपनाएको छ ।
चीनबाटै विश्वव्यापी बनेको कोरोना भाइरसका विरामीहरु प्रदेशमा भित्रन नदिन सामाजिक विकास मन्त्रालयले ६ वटै नाकाहरुमा चेकजाँचमा कडाइ गरेको छ ।
‘स्वास्थ्यकर्मीले ज्वरो नाप्छन् अनि आवश्यक सल्लाह सुझाव र सचेतना गराउँछन्,’स्वास्थ्य निर्देशनालयका भ्याक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यले भने, यदि १००.४ज्वरो भएपछि थप परिक्षणका लागि प्रदेश अस्पताल या घरमैं सुरक्षित क्वारेन्टाईनमा रहन सुझाव दिन्छौं ।’
कर्णाली प्रदेश अस्पताल कालागाउँका मेडिकल सुपरिडेण्ट डाक्टर डम्बर खड्काले अस्पतालमा पाँचवटा आइसोलेसन बेड र क्वारेन्टाईनको व्यवस्था गरिएको जानकारी दिए ।