शुक्रबार, बैशाख २१, २०८१

वीरेन्द्रनगरले धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

  
कर्णाली टाइम्स आइतवार, चैत्र ९, २०७६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि वीरेन्द्रनगर भित्रिने नाका धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ । नगर स्तरीय कोरोना भाईसर संक्रमण बिरुद्धको समन्वय समितीको आईतबार बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा भित्रिने यात्रुहरुलाई ‘हेल्थ डेस्क’ मार्फत चेक जाँच गर्ने निर्णय गरेको हो ।
चेक जाँचका क्रममा संंक्रमणको आशंका गरिए क्वारेन्टाइनमा राखेर थप उपचार गरिने वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । त्यस्तै प्रत्येक वडाका स्वास्थ्य चौकिहरुमा बिहान ८ बजे देखी साँझ ६ बजे सम्म खुल्लै राखेर सेवा दिइने समेत ढकालले जानकारी दिइन् ।
बैठकले वडा स्वास्थ्य चौकी मार्फत वडामा कोरोना भाईरसको संक्रमण फैलिन नदिन जनचेतनामुलक अभियान सञ्चालन गर्ने, वडामा कुनैपनि नयाँ व्यक्ति आए तुरुन्त स्वास्थ्य परिक्षण गरिने बताइएको छ । त्यस्तै, बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई अनुगमन सोमवार बाट विशेष टिम निर्माण गरेर बजार अनुगमनलाई समेत तिब्रता दिई कार्बाही गरिने छ ।
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्ने संस्था र पसलहरु बाहेक सबै सेवाहरू बन्द गर्ने सरकारको निर्णयलाई कार्यान्वयन समेत गरिने छ ।